एसिड आक्रमणमा परेकी कावासोती नपा–१० हरमासी टोलकी बसन्ती परियारको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको डाक्टरहरूले बताएका छन् । उनको भरतपुर अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुुसार पछिल्लो समय बसन्तीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएको छ । भर्ना भएदेखि नै बसन्तीको उपचारमा संलग्न रहेका डा. सुरेश प्रधानले बसन्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको बताए । उनले भने–‘सुधार हुँदैमा खतरामुक्त भन्न सकिँदैन ।’
बसन्तीको आइसीयू कक्षमा उपचार भए पनि भेन्टिलेटरबाट निकालिएको भरतपुर अस्पतालले जनाएको छ । असोज १० गते बिहान भरतपुर आँखा अस्पतालका डाक्टरहरूले बसन्तीको आँखा परीक्षणसमेत गरेका थिए ।
उनको दाहिने आँखामा कुनै असर नदेखिएको र देब्रे आँखाको नानीमा केही असर परेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार आँखा पूरा निको भए पनि पहिलेकै अवस्थामा फर्कन गा¥हो छ ।
बसन्तीलाई पेट, छाती र कोखामा छुरी प्रहार गरिएको थियो । छुरी प्रहार गरेको घाउमा पनि सुधार हुँदै आएको डाक्टर प्रधानले बताए ।
एसिडबाट बसन्तीको शरीरको २२ प्रतिशत भाग जलेको र ३५ प्रतिशतभन्दा बढी शरीरको भाग जलेको भए बचाउन गा¥हो हुने चिकित्सकहरू बताउँछन् ।
कावासोती नगरपालिका वडा नं १६ डण्डाको हरमासी टोलमा तरकारी किनेर फर्कँदै गरेकी बसन्तीलाई असोज ८ गते साँझ छिमेकी विमल श्रीपालीले एसिड प्रहार गरेका थिए ।