INSEC Online

📅 २०८३ जेष्ठ २१

मानसिक अपाङ्गता भएका व्यक्तिलाई इन्सेकको सहयोग

बुद्धभूमि नपा–३ दुवियाका एकै परीवारका तीन जना मानसिक अपाङ्गता भएका व्यक्तिलाई असोज ११ गते इन्सेकले औषधि उपचारका लागि सहयोग गरेको छ ।

उनीहरूको औषधि उपचारका लागि मानव अधिकार निगरानी समूहले विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको १६ हजार ५ सय रुपियाँ पीडितको घरमा पुगेर इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सहयोग रकम प्रदान गरेका हुन् ।

संयोजक महतले बाबु धनबहादुर पुन, छोरी रमा पुन र छोरा विजय पुनको औषधि उपचारका लागि सङ्कलित रकम स्थानीयहरूको रोहवरमा वडा नं. ३ का अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरेका थिए ।

इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल र मानव अधिकार निगरानी समूह संयोजक पुष्पा रेग्मीको पहलमा रकम सङ्कलन गरिएको थियो ।

दुई महिना पहिले तत्कालनि प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहित इन्सेक र मानव अधिकार निगरानी समूहलाई एकै परीवारका तीन जना मानसिक अपाङ्गता भएका र आर्थिक अभावमा उपचारमा समस्या भएको वडा अध्यक्ष आर्चायले जानकारी गराएपछि स्थलगत अनुगमन गरेको थियो ।

नियमित औषधि सेवनपछि तीनै जनालाई क्रमिक सुधार आएको र थप उपचारका लागि करिब १ लाख रुपियाँ रकम आवश्यक रहेकामा बुद्धभूमि नगरपालिकाले १५ हजार रुपियाँ दिने निर्णय गरेको छ भने अन्य सङ्घ संस्थाले ३० हजार रुपियाँ सहयोग गरेका छन् ।

अन्य

भिडियो