INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कोन्ज्योसोम गाउँपालिकावासी मर्कामा

कोन्ज्योसोम गाउँपालिकामा ०७५ साउन ४ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको कोन्ज्योसोमवासीको दुःखेसो छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा अधिकृत सुनिता महर्जनलाई दिइएको भए पनि आफूलाई आर्थिक गतिविधि गर्ने अधिकार भने नभएको महर्जनले बताइन् ।

स्थानीय तह सञ्चालन नियमावलिमा भएको व्यवस्था अनुसार गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत र लेखापालका हस्ताक्षरमा बैङ्क खाता सञ्चालन हुने गर्दछ ।

प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ भने चार करोडभन्दा बढी रकम भुक्तानी दिन नपाइएको गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तानले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर सरूवा भएपछि रिक्त रहेको पदमा पदपुर्तिका लागि सङंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराए पनि सुनुवाइ नभएको अध्यक्ष सिङ्तानले बताए । कोन्ज्योसोमको सञ्चालन खर्च ठप्प हुँदा व्यक्तिगत रूपमा ऋण वा सापटी लिएर वडास्तरमा काम गर्नु परेको १ नम्बर वडाका वडा अध्यक्ष सन्तलाल लामाले बताए ।

अन्य

भिडियो