INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउपडी प्रथा मान्नेको सेवा सुविधामा रोक

तिला गाउँपालिकाले छाउपडी प्रथा मान्दै आएका कर्मचारी तथा जनप्रतिनिधिको सेवा सुविधा रोक्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा असोज १० गते बसेको बैठकले गाउँ सभाका सदस्य र कर्मचारीले छाउपडी, जातीय छुवाछुत नत्यागे सेवा सुविधा रोक्ने निर्णय गरेको उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।

छुइगोठ मुक्त बस्ती घोषणा गर्ने लहरसँगै गाउँ कार्यपालिका भित्र जातीय छाउपडी तथा छुवाछूत प्रथामा कडाइ गरिएको हो । गाउँपालिकाका रावतवाडा, जोगीवाडा र ढिमकोट गाउँ छुइगोठ मुक्त  घोषणा भइसकेका छन् ।

कार्यान्वयन गर्ने निकाय नै छाउपडी तथा जातीय छुवाछुत प्रथामा डुबेकाले तिला गाउँपालिकाले अभियानलाई आन्तरिक रुपमा नै बलियो बनाउँदै लैजान थालेको उपाध्यक्ष बुढाले बताईन् । समाजमा यस्ता प्रथाले हिंसा निम्त्याउने भएकाले निरुत्साहित गर्न थालिएको हो ।

‘छाउपडी भएकाले अलग्गै गाईवस्तुसँग बस्नुपर्ने बाध्यताबाट मुक्त गराउन पछिल्लो समयमा विभिन्न सचेतना क्रियाकलाप भइरहेको छ,’ उपाध्यक्ष बुढाले भनिन्, ‘गाउँपालिका भित्रैबाट नै यो अभियानलाई सशक्त बनाउँदै लगे प्रभावकारी हुने भएकाले यस्तो निर्णय भएको हो ।’ गाउँपालिकाभित्र महिलालाई चेतनामूलक क्रियाकलापमार्फत सचेत गराउने र छाउपडी प्रथाविरुद्ध क्रियाकलाप तीब्र पारिने भएको छ ।

अन्य

भिडियो