जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका जोडने उर्थचौतारादेखि पातारासी गाउँसम्मको सडकमा पहिरोले सडक अवरूद्ध भएपछि दुई महिनादेखि एम्बुलेन्स सेवा बन्द भएको छ ।
लामो समयसम्म सडक अवरूद्ध भएपछि दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको पातारासी गाउँपालिका–३ चौरगाउँका कृष्ण बुढाले बताए । पातारासी गाउँपालिका जोडने बढीखोली सडक खण्डमा ५०–६० ठाउँमा पहिरो गएको उनले बताए ।
पहिरोका कारण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवासमेत बन्द भएको छ । बिरामीलाई उपचारका लागि स्टेचरमा बोकेर पाँच घण्टा पैदल हिँडेपछि सदरमुकाम ल्याउने गरेको स्थानीय चन्न बोहोराले बताए । सडक अवरूद्ध भएपछि खच्चडमार्फत खाद्यान्न ढुवानी गर्ने गरिएको छ ।
पातारासी गाउँपालिकाका प्रमुख लक्षिमन बोहोराले पहिरोले सबै सडक लथालिङ्ग भएको बताए । उनले भने–‘यसले गर्दा गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवा पनि बन्द भएको छ ।’ अबको एक हप्ताभित्रै पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउने उनले प्रतिवद्धता जनाए ।