जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीमाथि चक्कु प्रहार गर्ने दोषीलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयल रामेछापमा भदौ ३१ गते स्थानीयले ध्यानाकर्षण पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारीसमक्ष सो माग गरेका हुन् ।
मन्थली नगरपालिका–१ निवासी सुवेदीलाई भदौ ६ गते साँझ आफ्नै घरमा आराम गरिरहेको बेला अज्ञात व्यक्तिले छातिमा चक्कु प्रहार गरेका थिए । घटना भएको २५ दिन बित्दा पनि घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार गर्न नसकेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएका हुन् ।
मन्थली नगरपालिका–१ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ, घटनाका पीडित नारायण सुवेदीकी पत्नी कविता सुवेदी, दाजु कृष्णप्रसाद सुवेदीलगायत जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीयले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटी तत्काल दोषीलाई सार्वजनिक गर्न ध्यानकर्षण पत्र बुझाएका हुन् ।
आरोपित गिरफ्तारीमा नपर्दा अन्य कर्मचारी र परिवारका सदस्यले समेत असुरक्षाको अनुभूति गरेको पीडितका दाजु कृष्णप्रसाद सुवेदीले बताए ।
प्रमुख जिल्ला अधिकारीले पीडितको तर्फबाट निवेदन बुझ्दै प्रहरीले अनुसन्धान गरिरहेकाले दोषी चाँडै सार्वजनिक हुने बताए । चक्कु प्रहारबाट घाइते भएका सुवेदी अहिले पनि काठमाडौँमा उपचार गराई रहेका छन् ।