महावोइ गाउँपालिका–५ की २० वर्षीया रञ्जना आचार्य पोखरेललाई छोरा नजन्माएको आरोपमा कुटपिट गरी घर निकाला गरेको आरोपमा २५ वर्षीय पति प्रजापति पोखरेललाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । आरोपित पोखरेललाई प्रहरी चौकी पात्माघाटबाट खटिएका प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।
छोरा नजन्माएको भन्दै पटकपटक कुटपिट गर्दै आएको र पछिल्लो पटक भदौ २९ गते कुटेर घर निकाला गरेको भन्दै पीडितले भदौ २९ गते प्रहरी चौकी पात्मघाटमा उजुरी दिएकी थिइन् । पीडितको उजुरी आएपछि प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए ।
कुटपिटबाट छातिमा चोट लागेकी पोखरेलको जिल्ला अस्पताल कालिकोटमा उपचार भएको छ । आरोपितलाई भदौ ३० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख डिएसपी शर्माले बताए ।