INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा यातना दिएको पीडित परिवारको आरोप

घोराही उमनपा–१४ का ३७ वर्षीय कुम्वीर बुढालाई कर्तव्य ज्यान मुद्दामा जबरजस्ती सावित गराउन प्रहरीले हिरासतमा चरम यातना दिएको पीडितकी ७४ वर्षीया आमा हरिकला बुढाले आरोप लगाएकी छन् ।

भदौ २९ गते घोराहीमा पत्रकार सम्मेलन गरी निर्दोष व्यक्तिलाई दोषी करार गर्न चरम यातना दिइएको भन्दै स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि पहल गरिदिन मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाज तथा राजनीतिक दलहरूलाई अपील गरेकी छन् ।

०६८ असार २८ गते घोराही उमनपा–१० का ३० वर्षीय टेकबहादुर घर्तीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न भई फरार रहेको भन्दै ०७५ भदौ १६ गते बागलुङ जिल्लाबाट गिरफ्तार गरी थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।

बुढालाई भेटन जाँदा दाहिने कान सुन्निएको र भदौ २८ गते राप्ती उपक्षेत्रीय अस्पतालमा औषधि समेत गरिएको, दुवै गोडाका पैतालामा घाउ भएको र शरीरभरी निलडाम देखिएको भन्दै यातना रोक्न पीडित परिवारले अपील गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले बुढालाई ज्यान मारेर लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको भन्दै ०७५ भदौ २० गते घोराहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकोमा समेत पीडित परिवारले आपत्ति जनाएका छन् ।

कुम्वीर दाङ र बाग्लुङमा बराबर बस्दै आएका र घर झगडा हुँदा ०७४ मङ्सिर २२ र २३ गते जिल्ला प्रहरी कार्यालय दाङ र ०७१ कात्तिक १० र ११ गते भालुवाङ प्रहरी हिरासतमा रहेको प्रमाण हुँदाहुँदै फरार रहेको भनी झुठा मुद्दा लगाइएको परिवारले गुनासो गरेको छ ।

पीडित परिवारले कतै उजुरी दिएका छैनन् । जिल्ला प्रहरी कार्यलयका डिएसपी रामप्रसाद घर्ती मगरले हिरासतमा यातना दिएको भन्ने कुरा आरोप मात्र भएको बताए ।

कुम्वीरले बाग्लुङ ढोरपाटन शिकार आरक्षमा खटिएका नेपाली सेना, प्रहरीलाई राशन पु¥याउने, तरकारी खेती गर्ने काम गर्दै आएका थिए ।

अन्य

भिडियो