उमेर नपुग्दै आमा बनेपछि कुषोषण भएका बालबालिका जन्मिने समस्या भोगिरहेको जुम्लाका सुत्केरी महिलाले गुनासो गरेका छन् ।
पातरासी गाउँपालिका–४ लुम गाउँकी १९ वर्षीया लग्नमाया बुढाले भनिन्–‘वर्षभरिको खेतीले तीन महिना मात्र खान पुग्छ । बाँकी समय अर्काको घरमा काम गर्नुपर्छ ।’ यसले गर्दा गर्भवती तथा सुत्केरी अवस्थामा राम्रोसँग खान नपाएको र उमेर नपुग्दै छोराछोरी जन्मेका कारण बच्चाहरू कुपोषित भएको उनको गुनासो छ ।
बालविवाहकै कारण लग्नमायाको विवाह पनि दर्ता भएको छैन । विवाह दर्ता नहुँदा जेठो छोराको जन्म दर्ता गराउन पाएकी छैनन् । जन्म दर्ता नभएपछि उनले कर्णालीका बालबालिकाका लागि सरकारले हरेक महिना दिँदै आएको २ सय रुपियाँ बालपोषण अनुदानसमेत पाउन सकेकी छैनन् ।
ज्याला मजदुरी गरेर सन्तानको पालनपोषण गर्नुपर्दा भनेको समयमा स्तनपान गराउन नपाएको उनले गुनासो गरिन् । ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्ने भएपनि बच्चालाई पुग्ने जति दुध नआएपछि गाईभैंसीको दुध खुवाएर बच्चालाई हुर्काउन बाध्य भएको उनले बताइन् ।
१६ वर्षमै विवाह गरेकी मनबुजा नेपालीका समस्या पनि उस्तै छन् । एक छोरा र एक छोरीकी आमा मनबुजाले भनिन्–‘उमेर पुगेपछि विवाह गरेकी भए छोराछोरी कुपोषित बन्ने थिएनन् । मैले यसरी दुःख पाउने थिइनँ ।’
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका महिला तथा बालबालिका कार्यालयहरूको एकीकृत तथ्याङ्कले बालविवाह दर ५२ दशमलब ७ प्रतिशत रहेको छ । मन्त्रालयका महिला विकास अधिकृत अनीता ज्ञवालीका अनुसार जुम्लामा अहिले २० प्रतिशत बालविवाह छ । एकातिर अशिक्षा तथा गरिबी र अर्कातिर सामाजिक सञ्जाल र मोबाइल फोनलगायतका प्रविधिको दुरूपयोगका कारण जिल्लामा बालविवाह बढेको हो ।
सन् २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ मा बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता हिंसाहरूले बालिका र महिलाहरू थप पीडित हुन पुग्ने उल्लेख छ ।
स्वास्थ्य अधिकृत अङ्गतबहादुर शाहीका अनुसार उमेर नपुग्दै आमा बनेका किशोरीबाट बच्चा जन्मनु, बाल्यावस्थादेखि गर्भवती तथा सुत्केरी अवस्थामा राम्रोसँग पोषिलो खाना खान नपाउनु, अशिक्षा, गरिबी, महिलाहरूमा कार्यबोझ, घरमा भएको पोषिलो खानाका परिकार बनाएर खानु भन्दा पनि बजारमा पाइने खानालाई बढी रुचाउनु र सरसफाइको कमी जस्ता समस्याका कारण कुपोषण बढिरहेको छ ।
६ महिनासम्मका बच्चालाई आमाको दुधले पुग्छ तर जुम्लामा ६ महिना नपुग्दै खाना खुवाउन सुरू गर्नाले पनि कुपोषण हुने गरेको र एउटै आमाले धेरै सन्तान जन्माउनु यहाँको अर्को समस्या रहेको उनले बताए ।