नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिसँग चन्दा सङ्कलनमा दवाव दिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।
सो पार्टीका कार्यकर्ताले दश हजारदेखि माथि आफ्नो इच्छाअनुसार अनिवार्य पार्टीलाई चन्दा सहयोग गर्न स्थानीय तहका प्रतिनिधिलाई दवाव दिएको जनप्रतिनिधिले बताए । वडा कार्यालयबाट एक लाखसम्मको चन्दा सहयोग गरि दिन भनेका छन् वडा कार्यालयमा बजेट नै छैन कसरी सहयोग गर्ने त्रिपुरासुन्दरी नपा-१ का वडा अध्यक्ष कर्मसिं थापाले गुनासो गरे । त्रिपुरासुन्दरी नपाका मेयर ओमबहादुर बुढाले भने ‘यस अघि पनि सहयोग माग्दा आफूहरूले दिएको र अहिले पुनः चन्दा सहयोग गर्नु पर्यो भनेका छन्, कसरी सहयोग गर्ने ? नगरौँ भने चेतावनी आएको छ’ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लवले स्थानीय तहमा चन्दा माग गरिएको गुनासो बढ्दै गएपछि पार्टीको निर्देशन र निर्णय बिना चन्दा असुली गरेको भन्दै पार्टीका कार्यकर्तालाई कारबाही गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी डोल्पाका सेक्रेटरी इन्चार्ज शेराप भनिने इन्जन रोकाया र डोल्पा मुड्केचुला गाउँपालिका-८ का नेपाल कम्युनिष्ट पार्टीका सदस्य दन्त परियार विराटले जिल्ला कमिटी र जनपरिषद्को निर्देशन तथा जानकारी बिना मनोमानी ढङ्गले चन्दा असुली, मुद्दा मिलाउने तथा पार्टीको नाममा ऋण माग्ने गरेको पाइएकाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।