INSEC Online

📅 २०८३ जेष्ठ २१

विदा कार्यान्वयन गराउन भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नै धर्नामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैङ्कको जनकपुरको मुलढोका अगाडि भदौ १७ गते धर्ना बसेका छन् ।

प्रदेश २ सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै मन्त्री यादवले धर्नामा बस्नु परेको बताए । विदाको अवज्ञा गर्ने र बैङ्क बन्द गराउने सङ्घीय समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले गिरफ्तार समेत गरेको छ । गिरफ्तारीमा परेकाहरू केही समयमा नै रिहा भइसकेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द थपलियाले बताए ।

भदौ १४ गते बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले कृष्णाष्टमीको दिन भदौ १७ गते प्रदेश २ मा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सङ्घीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैङ्कलगायत वित्तिय संस्था, जिल्ला प्रशासन कार्यालय, अदालतलगायतका कार्यालयले प्रदेश सरकारको विदा मान्ने गरेका छैनन् ।

यसअघि भदौ १० गते जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक विदा राष्ट्र बैङ्कले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव स्वयम्ले तालाबन्दी गरेका थिए ।

तर, उनले ताला लगाएर फर्किए लगत्तै प्रहरीले फुटाइदिएपछि भदौ १७ गते आफैँ गेट अगाडि धर्ना बसेका हुन् ।

अन्य

भिडियो