राष्ट्रिय मानव अधिकार आयोगले बाँके जिल्लाका ३० वर्षीय राममनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले भदौ १७ गते जारी गरेको प्रेस विज्ञप्तिमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको उपस्थितिमा बर्दियामा आयोजित एक कार्यक्रमबाट राज्यविरुद्धको आरोपमा यही भदौ ७ गते गिरफ्तार गरिएका यादवको उपचारका क्रममा प्रहरी हिरासतमा मृत्यु भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
कुनै पनि व्यक्तिलाई गिरफ्तार गरेपछि प्रभावकारी स्वास्थ्य परीक्षण गर्नुपर्ने एवम् थुनामा रहँदा शारीरिक वा मानसिक रुपमा बिरामी परेमा शीघ्र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गरी व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
यादवसँगै गिरफ्तार गरी हिरासतमा राखिएका अन्यको अवस्था सम्बन्धमा अनुसन्धान प्रारम्भ आयोगले शुरु गरको र पीडितले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गर्दै आयोगका अध्यक्ष अनुपराज शर्मालाई आज ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोगका अध्यक्षले शर्माले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।