परशुराम नपा-७ स्थित सिद्धनाथ माध्यमिक विद्यालय, चन्दनीमा छुवाछुतका कारण दलित विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।
विद्यालयमा गैरदलित विद्यार्थीहरूले दलित विद्यार्थीहरूलाई नजिकसमेत बस्न नदिने भएपछि २२ जना दलित छात्रछात्राहरू पठनपाठनमा समस्या भएको हो ।
घरबाट करिब ४५ मिनेटको दुरीमा रहेको विद्यालयमा विद्यार्थीहरूले खाजा बोकेर विद्यालयमा जाने गरेको भए पनि गैरदलित विद्यार्थीहरूले खाजा खानेसमयमा समेत छुवाछुत गर्ने भएकाले विद्यालय छोड्नु पर्ने स्थिति आएको दलित विद्यार्थीहरूले आरोप लगाएका छन् ।
‘खाजाको त के कुरा सँगै बसेर पानी समेत पिउन मान्दैनन् ।’-कक्षा नौ मा अध्ययनरत छात्र मनिष चुनाराले गुनासो गरे ।
खाजा खाने समयमा पनि दलित विद्यार्थीहरूले अलग्गै बसेर खाजा खानु पर्ने बाध्यता भएकोले दलित विद्यार्थीहरूलाई विद्यालय छोड्नु पर्ने अवस्था आएको कक्षा १० मा अध्ययनरत छात्रा कमला दमाईले बताए । उनले भनिन्-‘अन्य जातका विद्यार्थीहरूको यस प्रकारको व्यवहारले केही दलित विद्यार्थीहरू विद्यालय आउनै छोडेका छन् ।’
गैरदलित विद्यार्थीहरूले दलित विद्यार्थीहरूसँग खाजा खान नमान्ने गरेका कारण दैनिक रूपमा विद्यालयमा दलित विद्यार्थीको उपस्थिति घट्दो रहेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए ।
उनले भने-‘दलित विद्यार्थीहरूलाई सहज होस् भनेर शिक्षकहरूले दलित विद्यार्थीहरूसँगै बसेर खाजा खाने गरेता पनि गैरदलित विद्यार्थीहरूले भने सँगै बसेर खाजा खान मान्दैनन् ।’ अबको केही दिनमै दलित र गैर दलित विद्यार्थीहरूलाई सँगै राखेर खाजा खाने वातावरण बनाउन प्रयत्न गरिने प्रधानाध्यापक भट्टराईले बताए ।