निर्मला पन्त हत्या प्रकरणको सत्यतथ्य अवस्था सार्वजनिक गरी पीडित पक्षलाई यथाशीघ्र न्याय दिन इन्सेकले माग गरेको छ ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा भदौ ११ गते जारी विज्ञप्तिमा सत्यतथ्य पत्ता लगाई अपराधिलाई कारवाही गर्न माग गरिएको हो ।
निर्मला पन्त हत्या प्रकरणमा उदासिन प्रहरीलाई कारबाही गर्न, घटनाका दोषीलाई यथासम्भव चाँडो कानुनी दायरा ल्याउन, घाइते प्रदर्शनकारीको उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न हामी जोडदार माग गर्दछौँ ।-विज्ञप्तिमा भनिएको छ ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नपा–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या घटनामा संलग्नका बारेमा प्रहरीले हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
निर्मलाको शव ०७५ साउन ११ गते फेला परेको थियो । साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जान भनेर निस्केकी निर्मला साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए । साउन ११ गते भीमदत्त नपा–१८ निम्बुखेडा सडक नजिकै खोला किनारमा साइकल र किताब कापी फेला परेको थियो । सामान फेला परेको स्थान वरपर खोजतलास गर्ने क्रममा खोलापारी रहेको उखुबारीमा बलात्कार पश्चात हत्या गरेर फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।
घटनाको अनुसन्धान गर्न सरकारले सहसचिवको नेतृत्वमा अनुसन्धान टोली बनाएको छ । नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल मानिन्छ । तर, यो र यस्ता अनेक घटनामा प्रहरी अनुसन्धानको असफलताले प्रहरीमाथिको विश्वास घट्नेमा दुईमत छैन । -विज्ञप्तिमा उल्लेख छ ।