निर्मला पन्तको हत्या घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले भीमदत्त नपा–१८ की २२ वर्षीया बविता बम र १४ वर्षीय रोशनी बमलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।
निर्मला पन्त होमवर्क गर्न भनी साथी रोशनी बमको घरमा गएपछि त्यहीबाट बेपत्ता भई बलात्कार पश्चात हत्या भएको अवस्थामा उखुबारीमा फेला परेकाले निर्मलाका अविभावकहरूले उनीहरूबाट अनुसन्धान सुरू गरिनुपर्ने माग राखेपछि बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए ।
भदौ ८ गते महेन्द्रनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १५ वर्षीय सन्नी खुनाको मृत्यु पश्चात प्रदर्शनले उग्र रूप लिएको र लगातारको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप् बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले सदरमुकाम महेन्द्रनगरबजार र आसापास क्षेत्रमा ८ गते साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।
भदौ १० गते साँझ ६ बजेदेखि राति १० बजे सम्मका लागि र भदौ ११ गते बिहान ५ बजेदेखि १२ बजेसम्मका लागि कर्फ्यु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनायो ।
प्रदर्शनका क्रममा मृत्यु भएका सन्नी खुनालाई नेपाल सरकारले भदौ ९ गते शहीद घोषणा गरेपछि आज शहीद सम्मानका साथ महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।

कर्फयु आदेशपछि महेन्द्रनगर बजार सुनसान हुनुका साथै स्थानीय बासीहरू त्रसित रहेका छन् । कर्फ्यु कारण भारतका विभिन्न स्थानबाट गड्डाचौकी नाका भई नेपाल आउने यात्रुहरू अलपत्र परेका र स्थानीय सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।
यसैबिच इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कञ्चनपुर घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गर्दै इन्सेक गोरखाले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईमार्फत प्रधानमन्त्रीलाई भदौ १० गते ज्ञापनपत्र बुझाएको छ ।
इन्सेकद्वारा गठित मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले ज्ञापनपत्र बुझाउँदै कानुनको प्रयोगमा कुनैपनि नागरिकबिच कुनै कुराको आधारमा विभेद हुँदैन भन्ने आम नागरिकहरूले विश्वास गर्ने वातावरण बनाउनु राज्यको कर्तव्य भएको बताए ।