INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा सुविधा पाएनन्, छुट माग्दा दुर्व्यवहारको गुनासो

अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनहरूमा सुविधा पाउनुपर्ने भनी ऐनमा व्यवस्था भएपनि बागलुङमा जिल्लामा रहेका नागरिकहरूले सुविधा पाउन सकेका छैनन् ।

जिल्लाका कार्यक्रमहरूमा अपाङ्गता भएकाहरूले आवाज उठाउने गरेको भएपनि तत्कालै प्रक्रिया अनुसार उजुरी नगरेका कारणले पीडकहरूमाथि कारबाही गर्न नसकेको सरोकारवालाहरूको भनाई छ ।

पर्वत सदरमुकाम कुश्मादेखि बागलुङ आउँदै गरेको ग १ ख २५४७ नम्बरको बसमा यात्रा गरिहेका बागलुङ बहिरा सङ्घका अध्यक्ष एवम् धौलागिरी बहिरा आवासीय विद्यालय बागलुङका शिक्षक सन्तोष पौडेललाई बसका स्टाफले अपाङ्गता भएका व्यक्तिहरूले पाउने कानुन बमोजिमको सुविधा दिन इन्कार गरेपछि कारबाहीका लागि साउन ३१ गते पौडेलले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

उजुरी नपरेको कारणले कारवाही गर्न नसकेको बताउने जिल्ला प्रशासन कार्यालय, बागलुङले दुई पक्षबीच छलफल गराएर आगामी दिनमा यातायातमा छुट दिने सहमतिमा भदौ ४ गते मिलापत्र गरायो ।

जिल्ला प्रशासन कार्यालयमा यस प्रकारको उजुरी पहिलो पटक परेकाले मिलापत्र गराइएको बताउँदै आगामी दिनमा पनि गल्ती गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।

अधिकार बारे कुरा उठाउँदा बसका स्टाफहरूबाट हुने दुर्व्यवहार तथा अपमान बोधले पीडित बन्नुपर्ने र पुरा भाडा नतिरे बीच बाटोमै ओराल्ने डरले अपाङ्गता भएका व्यक्तिले आवाज उठाउन नसकेको बहिरा सन्तोष पौडेल बताउँछन् ।

अपाङ्ग संरक्षण तथा कल्याण ऐन अनुसार कुनै पनि अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाइजहाजबाट यात्रा गर्दा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था भएपनि यसको कार्यान्वयन भएको पार्इँदैन ।

अन्य

भिडियो