सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरूलाइ अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा कानुन बनाएर टुङगो लगाउने महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पीडितहरूलाई न्याय दिलाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा संशोधनको तयारी भइरहेको बताएका हुन् ।
महान्यायाधिवक्ता श्रेष्ठले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका फौज्दारी अपराधहरूको न्याय निरूपणका लागि नियमित अदालतको कानुनी प्रक्रियाबाट सम्भव नदेखिएको बताउँदै नेपाल सरकारले विषेश अदालत गठनको तयारी गरिरहेको समेत बताए ।
उनले दुवै आयोगमा परेका उजुरीहरूको अध्ययन अनुसन्धान गरी पीडितलाइ न्याय दिलाउनका लागि कानुनले दिएको अधिकार प्रयोग गरेर द्वन्द्वकालीन मुद्दाहरूको न्याय निरूपण गर्न प्रतिबद्ध रहेको बताए ।