खलङ्गास्थित बसन्त भ्याली पब्लिक स्कुलको कक्षा ३ मा अध्ययनरत नौ वर्षीय दिपेश ढाँटलाई सोही विद्यालयकी शिक्षिकाभावना नाथले साउन २९ गते निर्घात कुटपिट गरी घाइते बनाएको पीडित पक्षले जनाएको छ । कक्षा कोठामै विद्यार्थीलाई लाठीले शरीरभरी निलडाम हुने गरी कुटपिट गरेको पीडित विद्यार्थीका बुवा विक्रमसिंह ढाँटले जानकारी दिए ।

‘विद्यालयबाट घर फकिएर कपडा फेर्ने बेला छोराको शरीर भरी निलडाम देखियो ।’-उनले भने । शरीरमा के भयो भन्दा शिक्षिकाले कुटेको बताएपछि विद्यालयमा कुटपिट हुने गरेको खुलेको हो । शिक्षिका नाथको कुटपिटबाट पीडित विद्यार्थीको कम्मर तलपटि्टको भागमा निलडाम देखिएको छ ।
सोही विद्यालयका विद्यार्थीका अनुसार शिक्षिका नाथले ५-६ जना विद्यार्थीलाई लठ्ठीले कुटपिट गरेकी हुन् । कक्षामा ढिलो गरी पुगेकी शिक्षिकाले विद्यार्थीलाई कक्षाकोठामै लाइन लगाएर कुटपिट गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
कुनै पनि विद्यार्थीलाई कुटपिट गर्न पाइँदैन तर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि शिक्षिकाले निर्घात कुटपिट गरेको बारेमा विद्यालयलाई जानकारी गराइ सकिएको अभिभावक ढाँटले बताए ।
विद्यालयका शिक्षिका नाथले भने आफूले कुटपिट नगरेको दावी गरेकी छन् । उनले १०-११ जना विद्यार्थीलाई सामान्य सोधपुछ गरेको तर निर्घात कुटपिट नगरेको बताइन् ।
विद्यालय बन्द भइसकेपछि अभिभावकले फोन गरेर घटनाका बारेमा बताएपछि आफूलाई जानकारी भएको विद्यालयका प्रिन्सपल खिमानन्द भट्टले बताए ।
‘घटना के भएको रहेछ सो बारेमा बुधबार बुझ्छु ?’-उनले भने । अभिभावकले फोनमार्फत जानकारी गराउने बेलासम्म शिक्षिका घर गइसकेको कारण घटनाबारे सत्यतथ्य बुझ्न नसकिएको उनको भनाई छ । अभिभावकले भने विद्यार्थीलाई कुटपिट गर्ने शिक्षिकामाथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।