नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण साउन २९ गते देशका विभिन्न ठाउँमा बम विष्फोटका घटना भएका छन् ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार बन्दकर्ताले पोखराबाट भैरहवा जाँदै गरेको लु १ ख ६६२१ नम्बरको बसमाथि तिलोत्तमा नगरपालिकाको पत्थर डाँडामा बिहान सवा ६ बजे एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताले गरेको एसिड प्रहारबाट कास्कीको लेखनाथ महानगरपालिका–१ का ५३ वर्षीय रेशमबहादुर थापा घाइते भएका छन् । घाइते थापाको बायाँ हात पोलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए । घाइतेको सामान्य उपचार भिम अस्पताल भैरहवामा गरेपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
सैनामैना नगरपालिका–५ मा पर्ने महेन्द्रराजमार्गस्थित घमाहा पुलमा होक्स बम फेला परेको छ । सो बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान साढे १० बजे डिस्पोज गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर दिपेश बस्यालले बताए ।
बुटवल उप–महानगरपालिका–१३ मा रहेको नयाँगाउँ प्रहरी चौकीदेखि २ सय मिटर टाढा फेला परेको होक्स बम डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार सरुमारानी गाँउपालिका–४ को भालुवाङ्ग प्यूठान सडक खण्डमा राखिएको होक्स बमलाई नेपाली सेनाले निष्कृय पारेको छ ।
बिहानै सडकमा राखिएको उत्त बम स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको र सो वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए ।
सर्वसाधारणलाई त्रसित बनाउन प्लास्टिकको ग्यालेनमा तार जोडी राखिएको अवस्थामा उक्त वस्तु भेटिएको डिएसपी बुढाथोकीले बताए ।
इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार बन्दका दिन जिल्लाका दुई ठाउँमा बम विष्फोट भएको छ ।
जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका–१ नापी कार्यालय र सोही नगरपालिका–२ कालेखोलामा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
जिल्ला स्थित नापी कार्यालय नजिक र कर्णाली रजमार्ग अन्तर्गतको कालेखोलामा बम विष्फोटन भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताएका छन् ।
इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीका अनुसार मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ६ लेन सडकको सर्भिस ट्रयाकको डिलमा र सूर्यविनायक नगरपालिका–६ आदर्श बस स्टप नजिकै अरनिको राजमार्ग नजिक झोलामा हालेर राखिएको प्रेसर कुकर बम भेटिएको थियो ।
साउन २९ गते बिहान ६ः३० बजे भेटिएको पे्रसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । दुई ठाउँमा बम भेटिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सुरक्षाका लागि खटिएको थियो ।
नेपाली सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदिप श्रेष्ठका अनुसार बन्दको अवज्ञा गरी सवारी साधन चलाएको आरोपमा बन्दकर्ताले बा ४ ख ८५१६ नम्बरको आइचरमा आगजनी गरेका छन् । आगजनीका कारण गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । त्यसैगरी बन्दकर्ताले बा ५ ख २१३० नम्बर र बा ५ ख २१३२ नम्बरको गाडीको सिसा फुटाएका छन् ।