INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता हुँदा परिचय–पत्र पाउनबाट वञ्चित

महिला तथा बालबालिका कार्यालय खारेजीसँगै अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता सिर्जना हुँदा अपाङ्ग व्यक्तिहरू परिचय–पत्र पाउनबाट वञ्चित भएका छन् । परिचय–पत्र नहुँदा उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता, आक्षरण, समान प्रतिनिधित्वलगायतका सुविधा पाउन सक्दैनन् ।

महिला तथा बालबालिका कार्यालय खारेज भई सोको अधिकार स्थानीय तहमा स्थानान्तरण गरेपछि सो कार्यालयले परिचय–पत्र दिन बन्द गरेको हो ।

महिला तथा बालबालिका कार्यालयको कामकाज बन्द गरिएका कारण र स्थानीय तहले आफूहरूलाई स्पष्ट जानकारी नआएकाले परिचय–पत्र तत्काल दिन नसकिने बताउँदै आएपछि अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेको अपाङ्ग उत्थान सङ्घ अछामका अध्यक्ष जङ्गबहादुर बिकले बताए ।

कार्यालय खारेज र स्थानीय तहले परिचय–पत्र वितरण नगर्दासम्मको कुनै वैकल्पिक व्यवस्था नगरेको बताइएको छ । कार्यालयले क, ख, ग र घ गरी २ हजार ९ सय ८० जनालाई अपाङ्गता परिचय–पत्र वितरण गरेको जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरू अपाङ्गता परिचय–पत्र लिन दुई/तीन दिन बिताएर कार्यालयमा आउने गरेका भए पनि आफूहरूले सेवा दिन नसकेको महिला तथा बालबालिका कार्यालय, अछामका बाल अधिकारी विरबहादुर विष्टले जानकारी दिए । ‘हामीलाई माथिबाट हाजिर बाहेक केही नगर्नु भनेको छ । निवेदनसमेत दर्ता गर्न सकिँदैन ।’–अधिकारी विष्टले भने ।

महिनाको दुई दिन परिचय–पत्र बाँड्ने भएपछि एकै दिन १० जना अपाङ्गता भएका व्यक्ति आउने कार्यालयकी महिला निरीक्षक मञ्जु महतले बताइन् ।

‘सोमबार सात/आठ जना आएका थिए । हामीले परिचय–पत्र दिन मिल्दैन भनेर फर्काइदियौँ ।’–निरीक्षक महतले भनिन् । यसअघि कार्यालयले हरेक महिनाको १४ र २८ गते अपाङ्गता परिचय–पत्र वितरण गर्दै आइरहेको थियो ।

माथिल्लो तहबाट लिखित रूपमा स्पष्ट निर्देशन नआएका कारण परिचय–पत्र जारी गर्न नसकेको मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए । ‘कसले जारी गर्ने ? सही कसले गर्ने ? केही लिखत त माथिबाट आउनु प¥यो नि !’–बोहराले भने । यसअघि जारी भएका परिचय–पत्र बाहकले भने सामाजिक सुरक्षालगायतका सेवा लिइरहेको नगर प्रमुख बोहराले बताए ।

महिला तथा बालबालिका कार्यालय खारेज नहुँदासम्म स्थानीय तह र जिल्ला अस्पतालको सिफारिसमा महिला तथा बालाबालिका कार्यालयले नै क, ख, ग र घ गरी चार प्रकारको परिचय–पत्र वितरण गर्दै आएको थियो ।

अन्य

भिडियो