INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयबासीद्वारा अस्पताल बन्द गराउँदा बिरामी मर्कामा

कञ्चनरूप नपा–८ स्थित धर्मेश्वर अस्पतालको सम्पूर्ण सेवा साउन २३ गतेदेखि बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् । पूर्व–पश्चिम राजमार्गमा सञ्चालित १५ शैयाको निजी अस्पतालको सम्पूर्ण उपचार सेवा स्थानीयबासीले बन्द गराएपछि बिरामीहरू मर्कामा परेका हुन् ।

उपचारको क्रममा मोटरसाइकल दुर्घटनामा घाइते चालक कञ्चनरूप नपा–११ बक्साहाका ४० वर्षीय थिरप्रसाद चौधरीको मृत्यृ भएपछि स्थानीयबासीले साउन २२ गते रातिबाट सडक जाम गर्दै विरोध प्रदर्शन गरेपछि सेवा प्रभावित हुँदै आएको छ ।

घाइतेका आफन्तले अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै अस्पतालबाट क्षतिपूर्ति भराउनु पर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साउन २३ गते पनि बिहानैदेखि प्रदर्शन जारी राखेपछि अस्पताल र मृतक परिवारकाबीच लिखित सम्झौता भएर अस्पताल बन्द गरिएको अस्पतालका व्यवस्थापक दिलिप कर्णले बताए ।

पोष्टमार्टम प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रकृया अगाडि बढाउन दुवै पक्ष तयार भएपछि पोष्टमार्टम प्रतिवेदन नआउञ्जेसम्मका लागि अस्पताल बन्द गरिएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शवको पोष्टमार्टम गर्न मृतकका आफन्त र गाउँलेहरू तयार नभएपछि साउन २३ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर पोष्टमार्टम गरिएको सप्तरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, कञ्चनरूपका इन्स्पेक्टर प्रतिक विष्टका अनुसार पोष्टमार्टम प्रतिवेदन आउन एक सातादेखि १० दिनसम्म लाग्छ ।

अस्पतालबाट कुनै लापरवाही नभएको र सुविधासम्पन्न अस्पतालका लागि रेफर गरिएका घाइतेलाई धरानतर्फ लैजाँदै गर्दा भारदह पुगेपछि मृत्यु भएको अस्पतालका बजार व्यवस्थापक किशोरी दासले बताए ।

२०६८ सालदेखि राजमार्गमा सञ्चालित सो अस्पतालले प्राथमिक उपचारका साथै विशेष गरी दुर्घटनाका घाइतेहरू र विषसेवनका बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा दिँदै आएको छ । पाँच दिनदेखि अस्पतालको सम्पूर्ण सेवा बन्द भएपछि बिरामी र तिनका आफन्तलाई मर्का परेको छ ।

अन्य

भिडियो