सप्तरीमा चार महिनाको अवधिमा सातवटा बहुविवाहको उजुरी दर्ता भई कारबाही प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चार महिनाको अवधिमा बहुविवाहको उजुरी दर्ता भएका ६ वटा मुद्दा अदालतमा बुझाई सकिएको र पछिल्लो एउटा मुद्दामा दुई जना आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
बहुविवाहको आरोपमा साउन १८ गते गिरफ्तार भएका कञ्चनरुप नपा–१० घोघनपुरका २५ वर्षीय दुखी राम र २३ वर्षीया ममताकुमारी उराउविरूद्ध साउन २० गते उजुरी दर्ता भई अनुसन्धान भइरहेको छ ।
जनही ३५ हजार रुपियाँ धरौटी बुझाउन नसक्दा बहुविवाह घटनाका आरोपित खडग नपा–५ का ३५ वर्षीय सीताराम मण्डल र बोदे बर्साइन नपा–१२ की २० वर्षीया रीतादेवी मण्डल साउन २४ गतेदेखि कारागारमा थुनामा परेका हुन् ।
अदालतको आदेशबमाजिम धरौटी रकम तिर्न नसक्दा पुर्पक्षका लागि कारागारमा थुनामा पठाइएको सप्तरी जिल्ला अदालतका से्रस्तेदार दिलकुमार वर्देवाले जनाए । से्रस्तेदार वर्देवाका अनुसार चार महिनाभित्र प्रहरीबाट आएका सातवटा मुद्दामा एक भारतीय नागरिकसहित तीनजना थुनामा, धरौटी बुझाउन नसक्दा थप दुई जना थुनामा परेका छन् ।
तीन जना धरौटीमा र गिरफ्तार नभएका तीन जनालाई म्यादी पुर्जी जारी गरिएको छ । यसबाहेक गत आर्थिक वर्षमा महिला तथा बालबालिका सेवा केन्द्रमा बहुविवाहको धम्की दिएको २४ र दोस्रो पत्नी विवाह गरी हेलाँ गरेको तीन वटा घरेलु हिंसाको उजुरी समेत परेको इन्स्पेक्टर सुजता तुम्बाहाम्फेले बताइन् ।
बहुविवाहका अर्का आरोपित हनुमाननगर कङ्कालिनी नपा–१४ रम्पुरा मल्हनियाकी ३१ वर्षीया बबीतादेवी मुखिया साउन २३ गते १५ हजार रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा भएकी छिन् । प्रहरीले आरोपित बबीतादेवी मुखियालाई साउन ३ गते गिरफ्तार गरेपनि ४० वर्षीया रामलोचन मुखियालाई गिरफ्तार गर्न सकेको छैन । जेठी पत्नी ३० वर्षीया चन्देश्वरीदेवी मुखियाले उनका पति रामलोचन र बबीताविरूद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले साउन ४ गते दर्ता गरेको थियो ।
सुरुङ्गा नपा–१ का ३० वर्षीय श्याम भनिने प्रितम आले मगर र उदयपुर कटारी नपा–५ की २७ वर्षीया मीना मगर बहुविवाहको आरोपमा असार १९ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । जेठी पत्नी २५ वर्षीया ममता मगरले उजुरी गरेपछि उनीहरू असार १ गते गिरफ्तार भएका थिए । शम्भुनाथ नपा–१२ की १६ वर्षीया बालिकालाई झुक्याएर दोस्रो विवाह गरेका भारतको बिहार राज्य मधुबनी जिल्ला न्यौर ग्राम पञ्चायत बस्ने २३ वर्षीय नसरुल भनिने निसरुल मियाँ जेठ २३ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
राजविराज नपा–९ मलेठका ३५ वर्षीय विरेन्द्रकुमार यादव र सोही ठाउँकी १६ वर्षीया बालिकासँग दोस्रो विवाह गरी फरार छन् । जेठी पत्नी ३० वर्षीया गायत्रीकुमारी यादवको उजुरीमा जिल्ला अदालतले आरोपितहरू विरूद्ध चैत २३ गते म्यादी पुर्जी जारी गरेको छ ।
खडग नपा–९ मैनासहश्रबाहुका २८ वर्षीय नसिर मियाँ र डाक्नेश्वरी नपा–९ पत्थरगाढाकी २० वर्षीया सबाना खातुनले जनही ५० हजार धरौटी बुझाई तारेखमा मुद्दाको पुर्पक्ष गरिरहेका छन् । जिल्ला अदालत सप्तरीबाट चैत २७ गते नाताकायम गरेका उनिहरुलाई सोही अदालतले वैशाख ९ गते बहुविवाहको आरोपमा जनही ५० हजार धरौटी लिने आदेश गरेको हो ।