INSEC Online

📅 २०८३ जेष्ठ २१

उपाध्यक्षद्वारा वडाध्यक्षसँग स्पष्टीकरण माग, तीन जना वडाध्यक्ष धर्नामा

पैँयु गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ व्यहोरासहित सात दिने स्पष्टिकरण सोधेपछि वडाध्यक्षहरू रूष्ट भएका छन् ।

वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठलाई स्पष्टिकरण सोधेपछि उपाध्यक्षको राजिनामा माग गर्दै जनप्रतिनिधिहरू साउन २३ गतेदेखि धर्नामा बसेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठको पद षडयन्त्रपुर्वक रिक्त गराउने योजना बनाएको भन्दै उपाध्यक्षको राजिनामा माग गरेर धर्नामा बसेको जनप्रतिनिधिहरूले बताएका छन् ।

पैँयु गाउँपालिका–३ का अध्यक्ष विष्णु काफ्ले, ४ का अध्यक्ष श्रेष्ठ र ५ का अध्यक्ष उमाकान्त भुर्तेल अनशनमा बसेका हुन् । धर्नालाई सामाजिक परिचालक र स्थानीय समाजसेवीहरूले समेत ऐक्यबद्धता जनाएका छन् ।

गाउँपालिका उपाध्यक्षको राजिनामा नआए अनिश्चितकालसम्म अनसन बस्ने उनीहरूले चेतावनी दिएका छन् ।

उपाध्यक्षले राजिनामा गर्नुभन्दा पनि विषयलाई लम्ब्याउन खोजेको र माफी मात्रै मागेर समाधान खोज्न थालेकाले बाध्य भएर धर्नालाई निरन्तरता दिइएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले बताए  ।

वडा अध्यक्ष श्रेष्ठ जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यबहाकको जिम्मा दिएर पारिवारीक काममा जापान गएका थिए ।

गाउँपालिकालाई समेत जानकारी दिएर छोटो समयका लागि विदेश जाँदा गाउँपालिकाका कार्यबहाक अध्यक्ष जसमती गुरुङले ‘लगातार तीन ओटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने ब्यवस्था भएको’ व्यहोरासहित सात दिने स्पष्टिकरण सोधेपछि विवाद भएको थियो ।

गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिन भित्र स्वयम् उपस्थित भएर स्पष्टीकरण दिन  भन्दै पत्र पठाएकी थिइन् ।

गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले आफ्नो अनुपस्थितिमा भएको यस विवादलाई दुवै पक्षलाई राखेर समाधानको प्रयास गरिरहेको बताए ।

अन्य

भिडियो