INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि आक्रमण तथा कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न इन्सेकद्वारा माग

पत्रकारमाथि आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीले साउन १८ गते एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

धनगढीको एसटिएस टेलिभिजन तथा दिनेश एफएमका कार्यक्रम प्रस्तोता एवम् पत्रकार नवराज धानुकलाई ०७५ साउन १७ गते जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले धनगढी उपमहानगरपालिकाको मुख्य बजारमा गाली गलौज गर्दै लात्ती र मुक्का प्रहार गरी आक्रमण तथा कुटपिट गरेको व्यहोराको पत्र साउन १८ गते इन्सेक प्रदेश कार्यालय धनगढीले सो विज्ञप्तिमार्फत न्यायको माग गरेको हो ।

इन्सेकका प्रदेश संयोजक खडकराज जोशीद्वारा हस्तारक्षित विज्ञप्तिमा आमसञ्चार माध्यमबाट प्रकाशित भएका समाचारमा असहमति भए खण्डन गर्ने तथा कानुनी उपचारको बाटो अवलम्वन गरिनु पर्नेमा पत्रकारमाथि हातपात तथा कुटपिट गर्ने कार्य मानव अधिकार तथा पत्रकारितामाथिको हस्तक्षेप भएको ठहर गदै घटनाप्रति ध्यानकार्षण भएको उल्लेख गरिएको छ ।

साथै पत्रकारहरूको शान्ति सुरक्षाको सुनिश्चितता गर्न र नागरिकको सूचना पाउने हकको सम्मान तथा संरक्षण गर्न विज्ञप्तिद्वारा सरकारसँग माग गरिएको छ ।

पत्रकार धानुकले आफू कार्यालयको काम सकेर बेलुकी ७ बजे घर फर्किने क्रममा सिंहले एक्कासी आएर लात्ती र मुक्का प्रहार गरी आक्रमण गरेको बताए । उनले सार्वजनिक ठाउँमा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुटपिट गरेपछि मानव अधिकार हनन् भएको बताउँदै आक्रमण गर्ने व्याक्ति विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताए । घटनासम्बन्धी अनुसन्धान भइरहेको कैलाली जिल्लाका प्रहरी प्रमुख विनोद घिमिरेले बताए । घाइते पत्रकार धानुकको उपचार घटना भएकै दिन सेती अञ्चल अस्पतालमा भएको छ ।

अन्य

भिडियो