इन्सेक जिल्ला प्रतिनिधिको पहलमा साउन १७ गते स्याङ्जा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ ।
इन्सेक स्याङ्जा प्रतिनिधि हिमलाल पराजुलीको पहल र पुतलीबजार नगरपालिकाको सहयोगमा पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले जिल्ला कारागार पुगेर १ हजार लिटरको खानेपानी सङ्कलन गर्ने ट्याङ्की कारागारका निमित्त प्रमुख बुद्घिप्रसाद शर्मालाई हस्तान्तरण गरेकी हुन् ।
प्रमुख क्षेत्रीले कारागारमा भएका अन्य समस्याहरू पनि नगरपालिकाले समाधानको लागि सक्दो पहल गर्ने बताइन् । इन्सेक स्याङ्जाले कारागारका कैदीबन्दीको अवस्था बुझ्ने क्रममा कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा आफुहरूलाई बस्नको साथै खानेपानीको समस्या भएको बताएका थिए । सोसम्बन्धी समाचार असार ३२ गते इन्सेक अनलाइनमा खानेपानीको ट्याङ्की पर्याप्त नहुँदा कारागारमा पानीको समस्या शीर्षकमा प्रकाशन गरिएको थियो ।
सो समस्या इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले पुतलीबजार नगरपालिकामा सो समस्या राख्दा मेयर क्षेत्रीले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कारागारको क्षमता ५० जनाको भएपनि हाल कारागामा नौ वर्षीया आश्रित बालिका सहित नौ जना महिला र १ सय १७ जना पुरूष गरी १ सय २६ जना कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख बुद्घिप्रसाद शर्माले जानकारी दिए ।