नौ जना कर्मचारीको करार अवधि थप नभएपछि दाङको लमही अस्पतालमा अत्यावश्यकीय स्वास्थ्य सेवा दुई हप्तादेखि अवरूद्ध भएको छ ।
करार सकिएका कर्मचारी आउन छोडेपछि लमही अस्पतालको एक्स-रे, इसिजी, एम्बुलेन्स र शवबहान सेवा ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.विमलेशकुमार गुप्ताले जानकारी दिए ।
एक्स-रे र इसिजीका सचेत भण्डारी, अहेव विष्णु शर्मा र राजाराम चौधरी, कम्प्यूटर अपरेटर आकृति सिंह, एम्बुलेन्स चालक महेन्द्र बिक, शवबहान चालक रोवर कुमाल, कार्यालय सहयोगीहरू तारा केसी, कलशपति चौधरी, सुनिता चौधरीको करार नविकरण नहुँदा साउन १ गतेदेखि स्वास्थ्य सेवा ठप्प भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा १५ दिनदेखि एक्सरे, इसिजी तथा एम्बुलेन्स सेवा बन्द भएपछि बिरामीहरू निजी क्लिनिकमा जान बाध्य भएको सुपरिटेण्डेण्ट गुप्ताले बताए । ‘पूर्व जानकारी नै भएन, एकाएक असार ३२ गते करार सकिएको जानकारी पाइयो ।’-एक्स-रे र इसिजी हेर्ने सचेत भण्डारीले भने-‘लामो समयदेखि काम गरिरहेका कर्मचारीलाई पूर्व जानकारी विनै किन हटाइयो भन्ने हामीलाई नै थाहा छैन ।’
कर्मचारीहरूले हटाउनुको कारण पत्ता लगाई समस्या समाधान गरिदिन आग्रह गर्दै साउन १ गते लमही नगरपालिकामा ज्ञापन-पत्र बुझाएपनि सुनुवाइ नभएको बताए । दैनिक करिब १ सय बिरामी आउने गरेको अस्पतालमा अहिले कर्मचारी अभावमा बिरामी फर्किने गरेको अस्पतालले जनाएको छ । तर, आवश्यक जनशक्ति पूर्तिका लागि अस्पताल विकास समितिमा माग गरिसकिएको सुपरिटेण्डेण्ट डा. गुप्ताले बताए ।