अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२४ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
साउन १० गते इन्सेक कार्यसमितिको बैठकले विगत एक दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील यमुनामाइ गाउँपालिका–५, रौतहटका राँकीलाई “प्रकाश मानव अधिकार पुरस्कार २०७४” बाट सम्मान गर्ने निर्णय गरेको हो ।
‘प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा साउन १६ गते जनकपुरधाममा सम्पन्न हुने एक समारोहकाबीच राँकीलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।’- साउन १५ गते इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट यसअघि २३ जना सम्मानित भइसकेका छन् । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको इन्सेकले जनाएको छ ।
थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।