INSEC Online

📅 २०८३ जेष्ठ २१

स्मारक बनाउन माग गर्दै द्वन्द्वपीडितले गाडे व्यानर

घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरूले सामूहिक हत्याकाण्डका मृतकहरूको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन् ।

photo20180728dang

साउन ११ गते घटनास्थलमा जम्मा भएका पीडितहरूले पटक–पटक आग्रह गर्दा पनि स्थानीय प्रशासन, उपमहानगरपालिका, राजनीतिक दल र जग्गाधनीसमेतले बेवास्ता गरेको भन्दै आफन्त मारिएको ठाउँमा ऐतिहासिक घटनास्थल संरक्षण गर्न घटना मिति उल्लेखित व्यानर गाडेको द्वन्द्व प्रभावित सरोकार केन्द्र दाडकी अध्यक्ष सुशीला चौधरीले जानकारी दिइन् ।

वर्गद्दिमा धान दाँइ गरिरहेका बेला ०५८ मङ्सिर १३ गते स्थानीय ११ जना किसानहरूलाई तत्कालीन विद्रोही माओवादीका नाममा सेनाले गोली हानेर एकै ठाउँमा हत्या गरेको थियो ।

‘आफन्त मारिए पनि उनीहरूको सम्झनामा घटनास्थलमा स्मारक बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’–पति खुशीराम थारूलाई सोही घटनामा गुमाएकी ३८ वर्षीया भौनी चौधरीले भनिन्–‘घटनास्थललाई प्लटिङ गरेर विक्री गर्ने काम भएको छ । हामीलाई यो जमीन चाहिन्छ त्यही भएर व्यानर गाडेका हौँ ।’

उनीहरूले द्वन्द्वकालमा भएका घटना बिर्साउन र आफन्तलाई सम्झिन पनि स्मारक बनाउनुपर्छ भन्ने आपूmहरूले माग गरेको बताएका छन् ।

स्थानीय कृष्ण रेग्मीको नाममा रहेको उक्त जमिन तत्कालीन माओवादीकै नेता, कार्यकर्ताहरूले सस्तोमा खरिद गरेर घर घडेरीमा विक्री गरेको पीडितहरूको आरोप छ ।

‘घटनास्थल अहिले कसको नाममा छ हामीलाई थाहा छैन । तर, यो ठाउँ हाम्रा मान्छेहरूको रगतले भिजेको छ ।’–द्वन्द्वपीडित दिव्या चौधरीले भनिन्–‘यो ठाउँमा स्मारक बनाइएन भने हाम्रा सन्तानले पुर्खा मारिएको ठाउँ खोज्दा के देखाउने ?’

उक्त घटनामा वर्गद्दिका खुशीराम चौधरी, जगमान चौधरी, प्रसादु चौधरी, रामु चौधरी, रूपलाल चौधरी, जोगी चौधरी, सितलाल चौधरी, कृष्ण चौधरी, आशाराम चौधरी, सोङग्रा चौधरी र रितमान चौधरी गरी ११ जनाको एकै चिहान पारिएको थियो ।

अन्य

भिडियो