सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६ र ७ घुस्कीका स्थानीयहरू र सशस्त्र प्रहरीबीच साउन ९ गते साँझ भएको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीको गोली लागेर हरिनगर नपा–६ घुस्कीका ४६ वर्षीय कैजुम मियाँ र सोही ठाउँकी २५ वर्षीया महिजान खातुन घाइते भएको सशस्त्र प्रहरीका डिएसपी देवराज विष्टले बताए । गम्भीर घाइतेद्वयको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भइरहेको छ ।
९ गते साँझ बाख्रा चराएर फर्किँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीका एक जवानले बलात्कारको प्रयास गरेपछि स्थानीय आन्दोलित बनेको जनाइएको छ ।
सोही क्रममा सशस्त्रले आत्मरक्षाका लागि ७ राउण्ड हवाई फायर गरेको डिएसपी विष्टले बताए । तर, स्थानीयले भने अश्रु ग्यास र २० राउण्ड गोली फायर गरेको दावी गरेका छन् ।
यसैबीच सो क्षेत्रमा सशस्त्र प्रहरीका डिएसपी विष्ट र नेपाल प्रहरीका डिएसपी नारायणप्रसाद चिमौरियाको कमाण्डमा ९० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा दुई पक्षबीच वार्ता भएको छ ।