आठ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भइ भारत पुगेको आरोपमा साँफेबगर नगरपालिका-११ देवीस्थानका २१ वर्षीय रेवन्त दासलाई अछाम प्रहरीले दुई हप्तापछि गिरफ्तार गरेको छ ।
भारतको नयाँ दिल्लीमा बसिरहेका आरोपित रेवन्तलाई परिवारको सहयोगमा घर बोलाएर गिरफ्तार गरी साउन ९ बाट अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको इनिष्पेक्टर टेकबहादुर रावतले जानकारी दिए ।
नयाँ दिल्लीबाट परिवारको सम्पर्कमा घर फर्कने क्रममा आरोपित रेवन्तलाई साँफेबगर नगरपालिका-१० घुगुरकोटबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको अछाम प्रहरीको भनाई छ ।
गएको असार २० गते घटनाका आरोपित दासले पीडित बालिकासँग पानी माग्ने निहुँमा बलात्कार गरेको भन्दै पीडित पक्षले असार २८ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको योनाङ्गमा सङ्क्रमण भएका कारण असार २८ गतेबाट एक हप्तासम्म जिल्ला अस्पतालमा उपचारपछि पीडित घर फर्केकी छन् । घटना प्रहरीमा दर्ता नहुँदै आरोपित दास फरार भइसकेका थिए ।