सप्तरीको मलेठ घटनाको छानविन गर्न प्रदेश नम्बर २ को मन्त्रीपरिषदको साउन ७ गते बसेको बैठकले आन्तरिक ममिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रीस्तरीय छानबिन समिति गठन गरेको छ ।
समितिमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् । छानबिन समितिको सदस्य सचिवमा मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायधिवक्ता कृष्णप्रसाद बराललाई राखिएको छ ।
सप्तरीको मलेठमा ०७३ फागुन २३ गते पाँच जनाको ज्यान जाने गरी भएको घटनाको प्रदेश नम्बर २ को सरकारले छुट्टै छानविन गर्ने निर्णय गरेको हो ।
समितिले १५ दिन भित्र मलेठ घटनाको निष्पक्ष छानबिन गरी प्रदेश मन्त्रीपरिषदमा प्रतिवेदन पेश गर्ने मन्त्रीपरिषदले निर्णय समेत गरेको छ ।
उक्त घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन यथार्थ नभएको र दोषीलाई कानुनी घेरामा नल्याएको भन्दै मधेसवादी दलबाट विरोध भइरहेको बेला प्रदेश सरकारले छानबिन गर्ने जनाएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको आह्वानमा तत्कालीन नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न उत्रिएका बेला सप्तरीको मलेठ नजिकैको औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ०७३ फागुन २३ गते पाँच जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
उक्त घटनामा राजविराज नपा-९ का २६ वर्षीय सञ्जन मेहता, सोही नपा-४ का ५० वर्षीय पिताम्बर मण्डला, अग्नीसाईर कृष्णासवरन गाउँपालिका-४ प्रसवनीका २४ वर्षीय आनन्दकुमार साह, राजविराज नपा-९ मलेठका ३८ वर्षीय वीरेन्द्र मेहता र विष्णुपुर गाउँपालिका-१ कोटवीका ५७ वर्षीय इन्द्र भनिने इनरदेव यादवको मृत्यु भएको थियो ।
उक्त घटना सम्बन्धमा मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मधेसवादी दलले आपत्ति जनाएका छन् ।