गङ्गाजमुना गाउँपालिका–२ लताबमा टुनामुना गरी गाउँलेलाई दुःख दिएको आरोपमा साउन ५ गते दुई जनाको हत्या भएको छ ।
गाउँबासीलाई टुनामुना गरेर दुःख दिएको (बोक्सी) आरोपमा गाउँलेले साउन ४ गते समेत कुटपिट गरेको र ५ गते बिहान समेत कुटपिट गरेपछि गाउँलेले वडा कार्यालयमा छलफलका लागि निवेदन दिएको भएपनि छलफल सुरू नहुँदै दुवै झाँक्रीको मृत्यु भएको गङ्गाजमुना गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले बताइन् ।
कुटपिटबाट लताबका ६० वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही ठाउँका नरूङ तामाङको हत्या गरिएको जनाइएको छ । हत्यापछि गाउँपालिका उपाध्यक्ष र सोही वडाका वडाअध्यक्ष गाउँ जान समेत सकेका छैनन् ।
सिंहबहादुर तामाङको घरमा किरियाको काम भएको र उनीहरू दुवै झाँक्रीले टुनामुना गर्ने गरेको भन्ने आरोपमा गाउँबासी मिलेर कुटेका थिए ।
गाउँमा घटना भएपछि गाउँलेहरूले नै लास जलाइसकेको र गाउँमा घटनाको अनुसन्धानका लागि दार्खास्थित इलाका प्रहरी कार्यालय र फूलखर्क प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली घटनास्थल जान नसकेपछि जिल्लाबाट डिएसपी रामबहादुर केसीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
गाउँमा पुगेको प्रहरीसँग झडप हुन सक्ने र सामाजिक सद्भाव खलबलिन नदिन सबै पक्षलाई संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अध्यक्षतामा साउन ५ गते साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आग्रह गरेको छ ।
घटनास्थल सदरमुकाम धादिङबेसीबाट उत्तरतर्फ सडक सञ्जाल नपुगेको रि गाउँको लताब पुग्न करिब दुई दिन पैदल दुरीमा पर्छ । वर्षाको समय भएकाले सदरमुकामबाट नै सवारी साधन उत्तरतर्फ जान सकेको छैन ।