INSEC Online

📅 २०८३ जेष्ठ २१

जबाफदेही वार्ताको थालनी गर: इन्सेक

असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षा गर्न तथा विद्यमान समस्या समाधानकाे दीर्घकालीन समाधानका लागि जबाफदेही वार्ताको थालनी गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माग गरेको छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा साउन ४ गते जारी विज्ञप्तिमा उनको जीवन रक्षा गर्नका लागि अबिलम्व तथा जबाफदेही वार्ता गर्न सरकार तथा केसीलाई आग्रह गरिएको छ ।

चिकित्सक गोविन्द केसीको उपचार कर्णालीमा सम्भव छैन भन्ने जानकारी उनी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएपछि र आन्दोलनकारीहरूले डक्टर केसीको जीवन रक्षाको प्रमुख माग राखेपछि सरकारले उनलाई काठमाडौँको शिक्षण अस्पतालमा ल्याउने क्रममा भएको आन्दोलनकारी र प्रहरीबीच भएको झडपप्रति इन्सेकले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘सार्वजनिक स्वास्थ्य नागरिकको आधारभूत मानव अधिकार हो जसलाई हाम्रो संविधानले पनि आत्मसात गरेको छ । हामीले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत नै सार्वजनिक समस्याको समाधान खोज्ने प्रतिबद्धता अनुरूप नै राज्यका अङ्गहरूको गठन गरेका छौँ । चिकित्सा शिक्षालाई व्यवस्थित र मर्यादित पार्न भनी यस अघि गिरी आयोग, माथेमा आयोग र कार्की आयोगको गठन भई उनीहरूले दिएको प्रतिवेदन सरकारसँग छ ।’

सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई सम्बन्धित संसदीय समितिमा सरोकारवालाहरूसँगको अर्थपूर्ण सम्वादमार्फत परिपक्व बनाउन सकिनेमा इन्सेकले विश्वास रहेको जनाएको छ । ‘लोकतन्त्र विधिको शासन हो र त्यसमा जोर जबरजस्तीको कुनै स्थान हुनु हुँदैन । अन्यथा हामीले अराजकताको नजीर मात्र स्थापित गर्ने छौँ र भविष्य अराजकताको दलदलमा फस्ने छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

केसीलाई काठमाडौँ लग्न नदिने भन्दै जोर जबरजस्तीमा उत्रिएका चिकित्सक र बल प्रयोगमा संलग्न सुरक्षा निकायको कारणले केही व्यक्ति घाइते भएका छन् । एक प्रहरीको हालत चिन्ताजनक अवस्थामा पुर्‍याइएको छ ।

‘डक्टर केसी स्वयम् प्रधानमन्त्रीको विरूद्ध गालीगलौजमा उत्रिनु भएको छ । र चिकित्सकहरू सरकारको रिस सर्वसाधारणमाथि पोख्दै सरकारी अस्पतालको बहिरङ्ग सेवा बन्द गर्न थालेका छन् । हामी सरकार र डक्टर केसीलाई बिना पूर्वाग्रह आ–आफ्ना तर्क औचित्यसहित विधिको शासनको कदर गर्दै कानुनी राज्यको सम्मान हुने गरी जबाफदेही वार्तामा संलग्न हुन आग्रह गर्दछौँ ।’–विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी जबाफदेहीता निगरानी समितले पनि साउन ४ गते एक विज्ञप्ति जारी गर्दै जुम्ला घटनाको भत्र्सना र डक्टर केसीको जीवन रक्षाको माग गरेको छ ।

अन्य

भिडियो