डडेल्धुराका अधिकांश वडा कार्यालयहरू व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तहका ६२ वडा मध्ये ४० वटा वडा कार्यालयहरू मात्रै स्थापन भई सेवा प्रवाह गरिरहेका छन् भने २२ वटा वडा कार्यालयहरू स्थापना हुन नसकेका कारण स्थानीयहरूले सहज रूपमा सेवा पाउन सकिरहेका छैनन् ।
अमरगढी नगरपालिकामा अन्तर्गत रहेका ११ वडा कार्यालयहरू मध्ये वडा नम्बर–४ नम्बर वडा कार्यालय मात्रै स्थापना गरिएको छ भने अन्य १० वटा वडा कार्यालयहरू स्थापना हुन सकेका छैनन् ।
यसैगरी परशुराम नगरपालिकाका वडा नम्बर ८, ६ र १०, नवदुर्गा गाउँपालिकाका वडा नम्बर ४ र ६ गन्यापधुरा गाउँपालिकाका वडा नम्बर २, ४ र ५ आलिताल गाउँपालिकाका १ र ३, भागेश्वर गाउँपालिकाका ३ र ४ वडा कार्यालयहरू स्थापना हुन नसक्दा नगरपालिका र गाउँपालिकाबाटै सेवा दिइरहेका छन् ।
नगरपालिका र गाउँपालिकका यी वडाहरू स्थापना नभएका कारण जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिसका लागि पनि जिल्ला धाउनु पर्ने अवस्था आएको स्थानीयहरूले दुखेसो पोख्दै आएका छन् ।
वडाहरूमा सचिव र कार्यकारी अधिकृत नहुँदा जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिसका लागि पनि जिल्ला धाउनु पर्ने अवस्था आएको परशुराम नगरपालिका–११ का सन्तोष बोहराले दुखेसो पोखे । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा भनेपनि वडा कार्यालयको भवन नहुदा सेवा पाउनबाट वञ्चित भएका छौँ ।’–उनले भने ।
स्थानीय तहको निर्वाचन पश्चात वडा कार्यालयबाट सबै काम हुन्छ भन्ने सुनेकी भए पनि हाल वडा कार्यालय स्थापना नगरिएका कारण सानो कामका लागि पनि नगरपालिका धाउनु परेको अमरगढी नपा–११ कि सरस्वती खड्काले गुनसो गरिन् ।
स्थानीय तहको निर्वाचन पश्चात नयाँ संरचना अनुरूप भवन निर्माण नहुदा सेवा प्रवाहमा समस्या भएको अमरगढी नपा–५ का वडा सचिव कुशा पन्तले गुनासो गरिन् । पुरानो संरचना परिवर्तन गर्न जति सजिलो थियो नयाँ संरचना निर्माणमा उत्तिकै उप्ठ्यारो भएको सचिव पन्तले बताइन् ।
नगरपालिकामा वडा कार्यालय सञ्चालन नहुदा अहिलेसम्म वडाका सबै कामकाज नगरपालिका कार्यालय भवनबाटै दिनु परेको छ भने अर्काेतर्फ नगरपालिकाको भवनमा जनप्रतिनिधिलाई बस्ने व्यवस्था नहुदा वडाका कामकाजमा निकै कठिनाइ हुने गरेको अमरगढी नपा–१० का वडा अध्यक्ष भिमबहादुर रोकायले बताए ।
कर्मचारीको व्यवस्थापन हुन नसक्दा वडाबाट सेवा दिन नसकिएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । ‘कर्मचारीको व्यवस्थापनका लागि राज्यसँग ताकेता गरिरहेका छौँ । छिटो भन्दा छिटो कर्मचारीको व्यवस्थापन गरेर भदौ÷असोजसम्म वडा कार्यालय स्थापना गरी सेवा दिने तयारीमा लागेका छौँ ।’–प्रमुख ओझाले भने ।