एक महिनाअघि भारतको लखनऊ पुर्याइएकी १२ वर्षीया बालिकाको उद्धार गरी साउन २ गते परिवारमा पुनर्मिलन गराइएको छ । शान्ति पुनर्स्थापना गृह, कृष्णनगर र शिवराज नगरपालिकाको संयुक्त टोलीले बालिकालाई लखनऊबाट नेपाल फिर्ता गराई परिवारलाई जिम्मा लगाएको हो ।
बालिकालाई लखनऊस्थित एक स्थानीयको घरमा घरायसी काममा लगाइएको र त्यहाँ उनलाई कुटपिट र गालीगलौज गर्ने गरेको थाहा पाएपछि भारतीय प्रहरीले उद्धार गरी राजकीय बालगृह लखनऊको जिम्मा लगाएको थियो ।
बालिका भेटिएको सूचनाका आधारमा नेपालबाट उद्धार टोली त्यहाँ पुगी राजकीय बालगृह मोतीपुरबाट पीडित बालिकालाई नेपाल फर्काएको शान्ति पुनर्स्थापना गृह, कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
पीडित बालिकाको उद्धारका लागि संयोजक भूमिराज भट्टराई, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु, नेपाल भारत मैत्री सङ्घ चन्द्रौटाका अध्यक्ष महादेव पोखरेल, बालिकाका बावु सहितको टोली लखनऊ पुगेको थियो ।
नेपाल फर्काइएकी बालिकालाई शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुमार्फत बावुको जिम्मामा घर पठाइएको शान्ति पुनर्स्थापना गृह, कृष्णनगरले जनाएको छ ।