INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीको ध्यानार्कषणपछि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन

बुद्धभूमि नपा–३ दुवियामा धनबहादुर पुन र दुई छोराछोरी मनोसामाजिक अपाङ्गता भएको बारे अधिकारकर्मीले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी मदनबहादुर भुजेलले स्थलगत अध्ययन गरी पीडितहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रजिअ भुजेलले साउन २ गते पुन र उनका २२ वर्षीया छोरी रमा र १५ वर्षीय छोरा विजयलाई भेटेका हुन् । ०७५ साउन १ गते इन्सेक प्रतिनिधिसहित मानव अधिकार निगरानी समूहको प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीको ध्यानाकृष्ट गरेसँगै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पीडित परिवारको घरमै पुगी उनीहरूको अवस्था बुझेका हुन् । पीडितहरूको अवस्थाका बारेमा असार २९ गते इन्सेक अनलाइनमा आर्थिक अभावका कारण मनोसामाजिक अपाङ्गता भएकाको उपचारमा समस्या शीर्षकमा समाचार प्रकाशन गरिएको थियो ।

इन्सेक अनलाइन तथा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि अधिकारकर्मीहरूले प्रजिअलाई भेटेर घटनाका बारेमा ध्यानाकृष्ट गराएका थिए । घटनाको जानकारी गराए लगतै प्रजिअ भुजेल र मानव अधिकारकर्मी पुष्पा रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल र बुद्धभूमि नपा–३ का वडा अध्यक्ष विकास आचार्य पीडितको घरमा पुगेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूको आर्थिक अवस्था कमजोर रहेको देखेपछि अधिकारकर्मीले तत्कालका लागि १ हजार रुपियाँ सहयोग समेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भुजेलले स्थानीय सरकारले पीडित परिवारलाई सहयोग गर्नुपर्ने भन्दै बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठलाई सोही समयमा घटनाबारे जानकारी गराएका थिए । नगरप्रमुख श्रेष्ठले नगरपालिकाको बैठक बसी पीडित परिवारलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

अन्य

भिडियो