INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाको सक्रियताले तीन महिनामा आठ बालविवाह बदर

तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा आठ वटा बालविवाह बदर गरेको छ । स्थानीय पत्रपत्रिका, इन्सेक अनलाइन, विभिन्न सञ्चारमाध्यममा गाउँपालिकामा बालविवाह बढ्दै आइरहेको समचार प्रकाशन भएपछि ०७५ वैशाख महिनाबाट बालविवाह रोक्न अभियान नै सञ्चालन गरेको गाउँपालिकाले तीन महिनामा आठ वटा बालविवाह बदर गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

बालविवाह रोक्नकै लागि गाउँपालिकाले घरघरमा बालविवाह विरूद्ध अभियान थालेसँगै सचेतना स्थानीयमा सचेतना बढ्न थालेको गाउँपालिका प्रमुख जोकलाल बुढाले बताए । ‘पहिलेपहिले विवाह गरेपछि छुटाउन सक्ने अवस्था थिएन । पछिल्लो समय परिवार र बालबालिकालाई सँगै राखेर परामर्श गर्दा भइसकेको बालविवाह पनि बदर गर्न सफल भएका छौँ ।’-गाउँपालिका प्रमुख बुढाले भने ।

उनका अनुसार तमानखोला गाउँपालिकाको खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरालगायतका गाउँमा भएका बालविवाह रद्ध गरिएका हुन् । गाउँपालिकाले १६ देखि १९ वर्षसमूहका बालबालिकाहरू बीचमा भएको बालविवाह रद्ध गरेको बुढाले बताए ।

यस क्षेत्रमा विद्यालय जाने उमेरका बालबालिकाले अभिभावकको मञ्जुरी बिना भागेर विवाह गर्नेको सङ्ख्या बढेको बताउँदै न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनले पछिल्लो समय सूचना पाएसम्म आफूहरूले बालविवाह हुन नदिन र भएको अवस्थामा पनि रद्ध गर्न परामर्श गर्ने गरेको जानकारी दिइन् ।

बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले वृत्तचित्र पनि निर्माण गरेको छ । वृत्तचित्रमा बालविवाह गरेर समस्या झेलिरहेका पुराना पुस्ता, बालविवाहको बारेमा सचेत बनेका विद्यार्थी तथा शिक्षक र यसबाट किशोरीहरूको स्वास्थ्यमा पर्ने नकारात्मक असरको बारेमा स्वास्थ्यकर्मीहरूको परामर्श समेटिएको छ ।

गाउँपालिकामा बालविवाहको मुद्दा आएपछि बालक तथा बालिका र दुवै पक्षका अभिभावकहरूलाई वृत्तचित्र देखाएर सचेत गराउने गरिएको उपाध्यक्ष शेरचनले बताइन् । छुट्टनि नमान्ने दुवै पक्षलाई वृत्तचित्र देखाइसकेपछि स्वास्थ्यकर्मीहरूबाट पनि परामर्श गराउने गरिएको शेरचनको भनाई छ ।

बालविवाह रोक्नको लागि गाउँपालिकाले विद्यालय र गाउँ टोलमा नाटक तयार पारी प्रदर्शन गर्ने गरेको छ । किशोर तथा किशोरीहरूको प्रस्तुती रहने नाटकले बालबालिकामा अत्यन्तै सकारात्मक प्रभाव पारेको स्थानीयको भनाई छ । कानुनले २० वर्षनपुगेकाहरूको विवाहलाई बर्जित गरेको छ ।

अन्य

भिडियो