घाउचोट लागेको बेला औषधि लगाउन नमान्ने राउटेहरू अब फोटो सहितको परिचयपत्र धारी बनेका छन् । अहिले उनीहरू बस्दै आएको गुराँस गाउँपालिका-८ गर्चा गाउँको तल पातलेखोला बस्तीमै पुगेर गुराँस गाउँपालिकाले असार ३० गते फोटो सहितको परिचय बाँडेको हो ।
राउटेलाई परिचयपत्र दिने विषयमा गाउँपालिकाले राय मागे अनुरूप सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जेठ ३१ गते मन्त्रीस्तरको निर्णयपछि उनीहरूको परिचयपत्र बनेको हो । अहिले कायम रहेका ४२ घरधुरीका १ सय ४९ जना राउटेहरूलाई फोटो सहितको परिचयपत्र दिइएको छ ।
परिचयपत्रमा सम्बन्धित व्यक्तिको नाम, जन्म मिति, बावुको नाम, आमाको नाम, विवाहितको हकमा पति/पत्नीको नाम समेत उल्लेख गरिएको छ । उनीहरूको ठेगाना ‘गुराँस गाउँपालिका वडा नं. ८ दैलेख’ लेखिएको ती परिचयत्रमा परिचयपत्र नम्बर समेत कायम गरिएको छ ।
परिचयपत्र नम्बर लेखिएको महलमा घर नम्बर, परिवारमा ज्येष्ठताको आधारमा क्रमसङ्ख्या र अन्तमा चाहीँ राउटे समुदायको जनसङ्ख्या भित्र सम्बन्धित व्यक्तिको क्रमलाई अङ्कमा जनाइएको छ ।
यी विवरण लिन सामाजिक सेवा केन्द्र (सोसेक)को तर्फबाट पत्रकार भक्त शाहीले काम गरेका हुन् । मरेका व्यक्तिको नामै लिनु हुदैन भन्ने संस्कारका राउटेहरूलाई अभिलेखको महत्व बुझाएर मुस्किलले सहमत बनाएर नाम अभिलेख तयार भएको पत्रकार शाहीले अनुभव सुनाए ।
परिचयपत्र वितरणको लागि सरकारी टोली राउटे बस्तीमा पुगिसक्दा पनि ‘हामीलाई परिचयपत्र किन चाहियो ?’ भनेर लिन इन्कार गरेका राउटेहरूलाई राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले ‘परिचयपत्रले घाटा होइन फाइदै गर्छ’ भनी राउटे मुखियालाई सम्झाएपछि मात्र केही घरमुलीहरू परिचयपत्र लिन तयार भएका थिए ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले राउटे समुदायका महामुखिया महिनबहादुर शाहीलाई परिचयपत्र गलामा झुण्ड्यादिएर फोटो सहितको परिचयपत्र वितरण कार्यको आरम्भ गरिन् ।
फोटो सहितको परिचयपत्र वितरणले राउटेहरूलाई सहयोग गर्नेहरूले योजना बनाउन सजिलो हुने सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माको विश्वास छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले परिचयपत्र वितरणपछि तथ्याङ्क व्यवस्थापनमा सहयोग पुगेको बताए ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयपछि फोटो सहितको परिचयपत्र दिइएकोले यो आधिकारिक भएको बताए ।
राउटेहरू नेपालभर जहाँ गएपनि यही प्रमाणपत्रको आधारमा दिने गरी यसलाई अनिवार्य गराइने प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम शाहले जानकारी दिए ।
राउटे मुखिया सूर्यनारायण शाहीले अहिले नै परिचयपत्र अनिवार्य गर्न सजिलो नहुने टिप्पणी गरे । राउटे महिला विमली शाहीले सबैले सुरक्षित राख्न नसकिने भएकोले सेवा सुविधा दिँदा परिचयपत्र अनिवार्य गराउन नहुने भनिन् ।
सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हिरासिंह थापाले परिचयपत्रहरू प्लाष्टिक कोटेड भएकाले पानीमा भिजेर बिग्रिने वा च्यातिने समस्या नरहेको बताए ।
सबै राउटेहरूको एक-एक वटा परिचयपत्र गुराँस गाउँपालिकाले राखेको हुनाले हराएमा वा नोक्सान भएकाहरूले तुरून्तै आफ्नो परिचयपत्र पाउन व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
राउटे महामुखिया महिनबहादुर शाहीले आफूले परिचयपत्र लिँदा ‘अहिले परिचयपत्र त लिन्छौँ पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नू’ भनी शर्त राखेका थिए ।
राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका-११ आमपानीमा स्थायी रूपमा बस्दै आएको छ । त्यसपछि अहिले परिचयपत्र दिइएको समूह बाहेक अन्यत्र राउटे समुदाय कतै छैन ।
दैलेख आसपासमै फिरन्ते जीवन बिताउदै आएको यो समूहले डडेल्धुरामा बालबालिका विद्यालय अनि वयस्कहरू मजदूरी गर्ने जस्ता सामान्य जनजीवनमा फर्किएको अवस्थामा उनीहरूलाई राउटे मान्न नसकिने दैलेखका राउटे मुखिया वीरबहादुर शाहीको टिप्पणी छ ।