INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावका कारण मनोसामाजिक अपाङ्गता भएकाको उपचारमा समस्या

कमजोर आर्थिक अवस्थाका कारण बुद्धभुमि नपा–३ बक्टापुर दुवियाका ४७ वर्षीय घनबहादुर पुनको चार जनाको परिवारमा आफू सहित दुई जना छोराछोरी मनोसामाजिक अपाङ्गताका कारण अस्वस्थ भएपछि न उपचार हुन सकेको छ न राम्रोसँग खान बस्न पाएका छन् ।

गाउँको छेउमा एक्लो घर भएका पुन पहिलेदेखि मानसिक रूपमा अस्वस्थ हुनुको साथै उनका २० वर्षीया छोरी रमा र १५ वर्षीय छोरा विजयमा पनि सोही समस्या देखिएपछि ११ वर्षीया कान्छी छोरी रोशनीले बुवा र दाइ/दिदीको हेरचार गर्नेगरेकी छन् ।

बुवालाई मनोसामाजिक अपाङ्गता भएपछि आमाले सात महिना पहिले छाडेर अर्को विवाह गरेपछि पुन परिवार थप बिचल्लीमा परेको छ ।

बिरामीहरूलाई रेखदेख गर्न ११ वर्षीया बालिका बाहेक कोही नहुँदा उनीहरूको उपचार गराउन लैजाने मान्छे समेत छैनन् भने घरमा बिहान बेलुकीको खाने खानाको समेत ठेगान नहुने बालिकाको भनाई छ । तीन जनाको स्याहारसुसार गर्न र खाना जुटाउने अनि कसरी पकाएर ख्वाउने भन्नेमा पनि कान्छी छोरी रोशनीलाई समस्या हुने गर्छ ।

आर्थिक अवस्था कमजोर रहँदा र आम्दानीको श्रोत नहुँदा सिङ्गो परिवार उपचार अभावमा बस्न बाध्य छ । खरको छानो भएको सानो घर र ४ कठ्ठा खेत भएपनि खेती गर्ने मान्छे नहुँदा खेत बाँझै छोडिएको छ ।

बुद्धभुमि नपा–३ का वडा अध्यक्ष गोविन्द आर्चायले उनीहरूको समस्याबारे स्थानीय सरकारका मेयर, प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेको भएपनि हालसम्म कुनै सहयोग जुटाउन नसकिएको बताए ।

जिल्ला बाल संरक्षण समितिको तर्फबाट केही समयअघि ५ हजार रुपियाँ परिवारलाई सहयोग प्राप्त भएपनि सो रकम पर्याप्त नहुँदा उपचार नभएको आचार्यको भनाई छ ।

घनबहादुर पुनमा ६ वर्ष अघि र जेठी छोरी रमामा ४ वर्ष अगाडिदेखि यस्तो समस्या देखिएको थियो । छोरी रमालाई ६ महिना यता धेरै समस्या भएको छिमेकी रामबहादुर पुनले जानकारी दिए । उपचार अभावका कारण दिनप्रतिदिन उनको अवस्था असामान्य बन्दै आएको छ । छोरा विजयलाई पनि ५।६ महिना देखि मानसिक समस्या आएपछि परिवारमा जटिलता थपिएको छ । शरीर पँहेलो देखिने उनी आफै हिँडडुल गर्न सक्दैनन् ।

नियमित खाना खान नपाउँदा पुन परिवारको अवस्था दिनदिनै नाजुक बन्दै छ । सो परिवारका बिरामी सदस्यलाई तत्काल उपचार तथा उचित पोषणको लागि पहल गर्नु पर्ने देखिएको कपिलवस्तुका सामाजिक अभियन्ता शिवलाल यादव बताउँछन्  ।

अन्य

भिडियो