प्रदेश २ को सरकारले जारी गर्न लागेको प्रदेश प्रहरी ऐन संशोधनका लागि असार २७ गते प्रदेश २ का दलितहरूले प्रदेश सभा अगाडि खबरदारी जुलुश प्रदर्शन गरेका छन् ।
प्रदेश सरकारले संसदमा टेबुल गरेको प्रदेश प्रहरी ऐन दलितविरोधी रहेको भन्दै दलितहरूले प्रदेश सभा भवन अगाडि जुलुश प्रदर्शन गरेका हुन् ।
खबरदारी जुलुश प्रदेश सभा अगाडि जान खोज्दा प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय सभा सदस्य रामपृत पासवानलाई दुव्र्यवहार समेत गरेका छन् ।
दलित अधिकार परिषद् प्रदेश २ को अगुवाइमा खबरदारी जुलुश निकालिएको थियो । सरकारले प्रदेश २ मा जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी कोटा निर्धारण गर्नुपर्नेमा प्रहरी ऐनमा आरक्षणको अधिकार कटौती गरिएकाले आन्दोलित हुनुपरेको दलित अगुवाले बताएका छन् ।
प्रदेश २ मा मधेशी क्लष्टर ५४ प्रतिशत पछि दोस्रो सबैभन्दा ठुलो जनसङ्ख्या भएको दलित (१७.२९ प्रतिशत) पूर्ण समानुपातिक त के संविधान अनुसार पाउने अवसरमा समेत कटौती गर्ने कार्य घोर निन्दनीय रहेको पत्रकार भोला पासवानले बताए ।
प्रदेश प्रहरी ऐनमा दलितलाई प्रस्तावित आरक्षण कोटा ७ प्रतिशतमा झारेर प्रदेश सरकारले बेइमानी गरेको सङ्घर्ष समितिका सदस्य रामेश्वर महराले बताए ।
प्रदेश सभा घेरिएको अवस्थामा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी ऐन त्रुटीपूर्ण रहेको स्वीकार गरी सच्याउन तयार रहेको बताएका छन् । प्रदेश सभा चलिरहेकामा सभामै कुरा उठाउन र संशोधन गर्न दलितहरूले माग गरेका छन् ।
नीति आयोगमा पनि दलितहरुले जनसंख्याको आधारमा प्रतिनिधित्व गर्नुपर्ने, योग्यता निर्धारणमा स्नातक अध्ययन र ३ वर्षे कार्य अनुभवको आधारमा सदस्य बनाउनु पर्ने माग समेत राखेका छन् ।
राज्यको हरेक निकायमा जनसङ्ख्याको अधारमा प्रतिनिधित्व हुनुपर्ने मागमा विशेष जोड दिएका छन् । राष्ट्रिय सभा सदस्य रामपृत पासवानमाथि भएको दुव्र्यवहारको पनि छानबिन हुनुपर्ने माग राखेका छन् ।