चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न सात बुँदे माग राख्दै जुम्लामा आमरण अनसन बसेका डक्टर गोविन्द केसीको समर्थनमा असार २३ गते काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।

सरकारले माइतीघरलाई साउन १ गतेदेखि लागु हुन गरी निषेधित क्षेत्र घोषणा गरे पनि घोषणा फिर्ताको मागसहित माइतीघरमै प्रदर्शन गरिएको हो ।
तर, असार २२ गते नै सर्वोच्च अदालतले माइतीघर मण्डलालगायतका क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय प्रथि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

केसीले पनि आफ्नो मागमा माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय सदाका लागि फिर्ता गर्नुपर्ने उल्लेख गरेका छन् ।
सोलिडारिटी फर डक्टर केसी एलाइन्सले विरोध कार्यक्रमको आयोजना गरेको हो । माइतीघरमा सहभागी भएका केसीका समर्थकले प्रदर्शन गर्दै बानेश्वरसम्म र्याली आयोजना गरेका छन् ।

र्यालीमा उनीहरूले केसीको माग पूरा गर्नुपर्ने, माफियामूखी चिकित्सा शिक्षा ऐन ल्याउन नहुने लगायतका नारा लगाएका थिए । यसैगरी उनीहरूले सरकारको विरोधमा समेत नाराबाजी गरेका छन् ।
अनसनरत केसीको जीवन रक्षासहितको जरूरी सार्वजनिक महत्व प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदले असार २२ गते संसद बैठक अवरूद्ध गरेका थिए ।