अनसनरत डा.गोविन्द केसीको जीवन रक्षासहितको जरूरी सार्वजनिक महत्व प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदले असार २२ गते संसद बैठक अवरूद्ध पारेका छन् । उक्त प्रस्ताव कार्यसूचीमा नराखेपछि कङ्ग्रेसका सांसदहरूले उठेर विरोध जनाएका कारण बैठक स्थगित भएको हो ।
कङ्ग्रेसले आमरण अनशनरत डक्टर केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको थियो । तर, सरकार स्तरबाटै केसीको उपचारको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
असार २२ गते बसेको संसदको पहिलो बैठकमा कार्यसूचीमा राष्ट्रपतिको कार्यालयको पत्र, संसदीय सुनुवाइ समिति र व्यवस्थापन कार्यसूची मात्रै देखेपछि कङ्ग्रेस सांसदले विरोध गर्दै संसद अवरूद्ध गरेका थिए । पहिलो बैठक स्थगित भएपछि सभामुख कृष्णबहादुर महराले आजै दोस्रो बैठक आह्वान गरेका थिए ।
प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले अबरूद्ध गर्यो । कङ्ग्रेसले आमरण अनशरत डक्टर गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरूद्ध गरेको हो ।
सभामुखको पटकपटकको आग्रहपछि पनि कङ्ग्रेसका सांसदहरू आसनबाट उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । संसद्को अर्को बैठक असार २५ गते सोमबार दिनको १ः ०० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।