INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यमा समस्या भएपछि डक्टर केसी अस्पताल भर्ना

६ दिनदेखि अनशनरत डक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । डक्टर केसी असार २० गते दिउँसो बेहोस भएपछि स्थानीय प्रशासनले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरेको हो ।

Photo20180705Jumla

यसअघि उनलाई प्रतिष्ठानमा अनशन बस्न रोक लगाएको प्रशासनले उनको जीवन रक्षाका लागि भन्दै असार २० गते बेलुकी आफैँ अस्पताल पुर्‍याएको हो ।

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्न माग गर्दै केसी असार १६ गतेदेखि आमरण अनशनमा रहेका थिए । प्रशासनले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न रोक लगाएका कारण केसी जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा अनशन बस्दै आएका थिए । सोही क्रममा केसीको स्वास्थ्यमा समस्या आएपछि स्थानीय प्रशासनले उपचारका लागि अस्पताल पुर्‍याएको हो । उनको उपचार अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ ।

कभर्डहलमा उपचार गर्न सम्भव नभएको भन्दै चिकित्सकहरूले तीनदिन देखि डक्टर केसीको चेकजाँच गर्न छाडेका थिए । उनका भाइ किशोर केसीका अनुसार स्वास्थ्य अवस्था नाजुक बनेको र बेहोस भएपछि आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

आफ्ना माग पुरा गराउन डक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने योजना सहित जुम्ला आएका थिए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डक्टर केसीको जीवन रक्षाका लागि उनलाई अस्पतालमा भर्ना गरिएको बताए । प्रजिअ पौडेलले भने-‘डक्टर गोविन्द केसीलाई बिरामीका रूपमा अस्पताल पुर्‍याएका हौँ । उनको जीवन रक्षा गर्नु हाम्रो दायित्व हो । अहिले पनि प्रतिष्ठानमा निषेधित क्षेत्र जारी छ । केसीलाई आन्दोलनकारीका रूपमा नभइ नागरिकका रूपमा प्रवेश दिइएको हो ।’

अन्य

भिडियो