सरकारसँग स्वास्थ्य क्षेत्र सुधारका विषयमा माग राख्दै असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएपछि सेवाबाट सेवाग्राही प्रभावित भएका छन् ।
डा. केसीको जीवन रक्षाको माग गर्दै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित कर्णाली मुगु, कालिकोट, हुम्ला डोल्पा जिल्लाका अस्पतालमा बहिरङ्ग बाहेक अरु सबै सेवा ठप्प पारेर स्वास्थ्यकर्मी आन्दोलित भएपछि सेवाग्राही सेवाबाट प्रभावित भएका हुन् ।

पातारासी गाउँपालिका-४ लुमगाउँका रामलाल रोकाया पत्नीलाई झाडापखाला भएर दिसामा रगत देखिन थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार गराउन आएका थिए ।
उनले भने-‘स्वास्थ्यकर्मीहरूको आन्दोलन भएकाले उपचार हुन सकेन ।’ उनका अनुसार पैदल घर जान एक दिन लाग्छ निजी मेडिकलमा भएपनि उपचार गराउनुपर्ने बाध्यता छ ।
विगत पाँच दिनदेखि अनशनरत डक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको बताइएको छ । केसीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक टोली नै फिर्ता भएपछि उनको स्वास्थ्यमा थप समस्या भएको जनाइएको हो ।
केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको चिकित्सक टोली असार १८ गते साँझदेखि नै फिर्ता भइसकेका छन् ।
केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थान तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गर्न पटकपटक माग गरेपनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकको टोली उपचारबाट फर्किएको हो ।
डक्टर प्रविण गिरीले भने-‘केसीलाई राखिएको कभर्डहलमा उपचार सम्भव छैन । यस विषयमा प्रशासनलाई बारम्बार खबर गरेपनि प्रतिष्ठान लैजान दिएन दुषित वातावरणमा उनको भेन ओपन गरेर उपचार गर्न हामी रिक्स लिन सक्दैनौँ ।’ यस कारणले हाम्रो उपचारमा संलग्न टोली फिर्ता भएको हो ।
डक्टर केसीको स्वास्थ्य परीक्षणका लागि खटिएको चिकित्सक टोली असार १८ गते साँझ फिर्ता भएपछि उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनका सहयोगी समेत रहेका भाइ किशोर केसीले डक्टर केसी असार १९ गते दिनभर बोल्न नसकेर सुतिरहेको बताए ।
‘चिकित्सकहरूले पनि छोडिदिएका छन् । दाइको स्वास्थ्य अवस्था बिग्रँदै आएपछि अहिले बोल्नै नसक्ने, हातगोडा बाउँडिने, सुनिने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, छातिको धड्कन बढ्ने जस्ता समस्याले च्याप्दै गएको छ ।’-उनले भने ।
यसैगरी मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार डक्टर गोविन्द केसिले जुम्लामा सुरू गरेको अनशनलाई समर्थन गर्दै जिल्ला अस्पताल मुगुका स्वास्थ्यकर्मीले अस्पतालको आपतकालीन सेवा बाहेकका अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् ।
जुम्लामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस अध्यन सुरू र चिकित्सा विधेयकका विषयमा विविध माग राखी जुम्लामा गरेको अनशनबारे सरकारले तत्काल सुनुवाइ गरोस भन्ने उद्धेश्यले दबाव स्वरूप जिल्ला अस्पतालमा कार्यरत डक्टर, नर्सलगायत अन्य स्वास्थ्यकर्मीले असार १९ गतेदेखि अस्पतालको आपतकालीन सेवा बाहेकका अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन ।