महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दहालमाथि असार १८ गते महाङ्काल गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका बस्ने नेपाली काङ्ग्रेस ललितपुरका जिल्ला सचिव भिमसेन घिमिरेले आक्रमण प्रयास गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष दहालका अनुसार काङ्ग्रेसका जिल्ला सचिव घिमिरे कार्यालयमा प्रवेश गरी आफूसँग असम्बन्धित कागजातको प्रतिलिपि मागेकाले अरूको कागजको प्रतिलिपि दिन मिल्दैन भनेपछि आफूमाथि आक्रमणको प्रयास गर्नुका साथै कार्यालयको टेवुल सिसा तोडफोड गरेका हुन् ।
घटनामा संलग्न घिमिरेलाई कारबाहीको माग गर्दै असार १९ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको उनले जानकारी दिए ।
गोटिखेल प्रहरी कार्यालयका सई मनहरी थापाले घटनास्थलमा टेवुलको सिसा फुटेको र उक्त घटना सम्बन्धमा गाउँपालिकाका अध्यक्ष दहाल चापागाउँ प्रहरीमा निवेदन दिन गइसकेको बताए ।
तोडफोड घटनामा सङ्लग्न आरोपितको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
यसैबीच महाङ्काल गाउँपालिकाको कार्यालयले असार १८ गते नै गाउँपालिकाका अध्यक्ष दहालको कार्यकक्षमा प्रवेश गरी सामान्य प्राशासनिक विषयमा विवाद झिकी गाउँपालिकाका अध्यक्षलाई अवाञ्छित गालीगलौज तथा अप्रिय शब्दहरू प्रयोग गरी कार्यालयको जिन्सी सामग्रीहरूको समेत तोडफोड गरेको हुँदा घटनामा संलग्न घिमिरेको कृयाकलापको भत्सर्ना गरेको छ ।
उक्त कार्यमा सङ्लग्न घिमिरेलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायहरूलाई वक्तव्यमार्फत गाउँपालिकाले माग गरेको छ ।