इन्सेक अनलाइनमा समाचार प्रकाशन भएपछि यहाँका एक बालकको उपचार सुरू भएको छ । रिब्दीकोट गाउँपालिका-१ ख्याहा जोगीथुमका सात वर्षीय बालक शिव कुमाल जन्मेर जान्ने बुझ्ने भएदेखि नै मानसिक अवस्था ठिक नभएको भन्दै सिक्रीको बन्धनमा रहेको समाचार ०७५ जेठ १३ गते इन्सेक अनलाइनमा प्रकाशन भएको थियो ।
जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उक्त समाचार पढेपछि उनको उपचारका लागि पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
रिब्दीकोट गाउँपालिका, महिला तथा बालबालिका कार्यालय, पाल्पा सिविआरलगायतका सङ्घसंस्थाहरूले बालककै घरमा पुगेर उनको थप उपचारका लागि असार १७ गते युनाइटेड मिसन अस्पताल ल्याएका छन् ।
१७ गते नै महिला तथा बालबालिका कार्यालयले बालक शिवलाई ‘ख’ वर्गको निलो अपाङ्गता कार्डलाई परिवर्तन गरी ‘क’ वर्गको रातो अपाङ्गता कार्ड दिएको छ । ६ सय रुपियाँ पाउँदै आएकोमा अब मासिक रूपमा २ हजार रुपियाँ पाउने भएका हुन् ।
कार्यालयका निमित्त प्रमुख मनोज आचार्यले बालककी आमा पार्वती कुमाललाई रातो कार्ड, उपचारका लागि ५ हजार रुपियाँ नगद र बाटो खर्च १ हजार रुपियाँ गरी ६ हजार रुपियाँ सहयोग प्रदान गरे ।
सिक्रीले बाँधिएका बालक शिवलाई प्रजिअ ढकालले आफ्नो कार्यकक्षमै लगेर उनको चालचलन बानीव्यहोरा अवलोकन गर्दै भरपर्दो उपचारको लागि सरकारी तवरबाटै पहल गर्ने बताए । बालकको घरमै पुगेर उनको अवस्थाबारे जानकारी लिएका पाल्पा सिविआरका कार्यक्रम प्रमुख कृष्ण गहतराजले बालकको अवस्था बारे जानकारी लिँदा ७० प्रतिशत ठिक हुने बताए ।
‘उनले गर्दै आएको बानी व्यवहार अनौठो खालको भएपनि परिवर्तन गर्न सकिन्छ, यो अटिजमको अवस्था हो ।’-गहतराजले भने । बालक र आमालाई सँगै राखेर उपचारको व्यवस्था मिलाइएको उनले बताए । त्यसका लागि सिविआरले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अस्पतालमा उनको उपचार प्रक्रिया चल्दासम्म दैनिक रूपमा आमा र बच्चाको लागि ५ सय रुपियाँ प्रदान गर्ने समेत उनले बताए ।