INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रशासनको निशेधाज्ञा तोडेको आरोपमा डक्टर केसी गिरफ्तार

त्रिविवि शिक्षण अस्पताल काठमाडौँका डक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला पुगेकामा प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाएको छ ।

Photo20180630Jumla (3)

प्रशासनको निशेधाज्ञा तोडेको आरोपमा प्रहरीले हस्तक्षेप गरी उनलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी डा. तपनकुमार दाहालले प्रशासनद्वारा धर्ना, जुलुस र अनसनका कुनै पनि कार्यक्रम गर्न नपाइने जानकारी हुँदा समेत प्रशासन अगाडि आएर डा केसीले धर्ना दिएपछि गिरफ्तार गरिएको बताए ।

स्वास्थ्य क्षेत्रका विभिन्न मागसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आफ्नो अनसन तयारी थालेका डक्टर केसीलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति जारी गरेपछि डक्टर केसीको अनसन प्रभावित भएको छ ।

Photo20180630Jumla (2)

राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक तोडमोड गरेर फरक शैलीमा ल्याउन खोजिएको भन्दै १५ औँ अनसन जुम्लामा तयारी गर्ने घोषणा गरेका केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्ला भन्दा २०० मीटर वरिपरि अनसन गर्न नपाउने उल्लेख गरेको छ ।

डक्टर केसी समर्थकद्वारा सरकारविरुद्ध नाराबाजी

डा. केसीका माग जायज भएको भन्दै ऐक्यबद्धता जनाउँदै सरकार र प्रशासनविरुद्ध नाराबाजी गरिएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले राज्यका माफियाहरूले चिकित्सा शिक्षा निजीकरण गर्ने विरुद्ध डक्टर केसीको आन्दोलन भएकाले सबै नागरिक एकजुट हुनुपर्ने आवश्यक भएको बताए । उनले भने-‘गरिब जनताका छोराछोरी पढ्न नसक्ने गरी राज्यले मेडिकल शिक्षा निजीकरण गरेर बेइमानी गरेको छ । यस विरूद्ध हाम्रो खबरदारी हो ।’

Photo20180630Jumla (1)

प्रहरीले लाठीचार्ज गर्दा दर्जन बढीलाई चोटपटक

डाक्टर केसीलाई अनसन बस्न नदिएपछि प्रशासन विरूद्ध ओर्लिएका समर्थकहरूलाई प्रहरीले लाठीचार्ज गर्दा नागरिक समाजका अध्यक्ष राजबहादुर महत, देवेन्द्र शाही, विरबहादुर कठायतलगायतलाई चोटपटक लागेका महतले बताए ।

डक्टर केसी जुम्ला आएपछि कडा सुरक्षा व्यवस्था

डक्टर केसीले जुम्लाको सिमानामा प्रवेश गरेको खबर पाएपछि सुरक्षाकर्मीहरू बाक्लो मात्रामा परिचालन गरिएको थियो । अघिपछि खाली हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल परिसर, मुख्य बजार खलङ्गामा सुरक्षार्थ खटिएका प्रहरीको चहलपहल बढेको छ ।

अन्य

भिडियो