INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले अनसन स्थलमा हस्तक्षेप गरी कुटपिट गरेको विद्यार्थीको आरोप

मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ्ग संकायलाई स्वात्तता र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने मागगर्दै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीनदिन अघिदेखि अनसनरत विद्यार्थीहरूको अनसनस्थलमा असार १५ गते हस्तक्षेप गरी प्रहरीले आफूहरूलाई कुटपिट गरेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

प्रहरीको कुटपिटबाट विद्यार्थीहरू २२ वर्षीय जीवन शाही र २१ वर्षीय निकुञ्ज पाण्डे घाइते भएका छन् । स्थानीय देउती नर्सिङ्ग होममा उपचारपछि उनीहरू घरमा फर्किसकेका छन् ।

दक्ष शिक्षक, पुस्तकालय र प्रयोगशालाको उचित व्यवस्थापन गर्नुपर्ने मागका साथ असार ४ गतेदेखि पठनपाठन ठप्प पार्नुको साथै १२ गतेदेखि केन्द्रीय कार्यालयमा अनसनमा बसेका विद्यार्थीमाथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइराला र रजिष्टार डा. महेन्द्र मल्लको निर्देशनमा प्रहरीले कुटपिट गरेको मध्य पश्चिमाञ्चल विश्वविद्यालयका स्ववियु सचिव भरत शाहीले आरोप लगाए ।

यस विषयमा आन्दोलनरत विद्यार्थीसँग वार्ता गरी समस्या समाधान गर्नेतर्फ आफूहरू लागिपरेको रजिष्टार मल्लले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले विद्यार्थीहरूले केन्द्रीय कार्यालयमा ढुङ्गामुढा गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा सामान्य धरपकड भएको बताए ।

अन्य

भिडियो