बाँसगढी नपा-२ बर्दीयाकी ११ वर्षीया अस्मिता चौधरीको ‘रहस्यमय मृत्यु’को विरोधमा मुक्त कमलरी विकास मञ्च नेपालले असार ६ गते दाङमा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
बढैयाताल गाउँपालिका-७ का दुर्गा भण्डारीको घरमा जेठ २९ गते झुण्डिएको अवस्थामा भेटिएपछि बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको मुक्तकमलरीहरूले आरोप लगाएका छन् ।
अझै पनि कमलरी राख्ने र यौन शोषण गरी हत्या गर्ने क्रम नरोकिएको भन्दै सयौँ मुक्त कमलरीहरूले विरोध प्रदर्शन गरेका हुन् । अस्मिताको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्ने, कमलरी राख्नेहरूलाई कारबाही गरिनुपर्नेलगायतका माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा एकघण्टा धर्ना समेत दिए ।
उनीहरूले ०७० असार १३ गते देशलाई नै कमलरी मुक्त राष्ट्र घोषणा गरिसकिएको अवस्थामा अझै पनि दाङमा २१ जना बालिकाहरू कमलरी बस्न बाध्य भएको भन्दै उनीहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
उनीहरूले सरकारसँग भएका विभिन्न सम्झौता पालना गर्न सरकारको ध्यानाकर्षणका लागि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कमलरी राख्नेहरूको नामावलीसहित ज्ञापनपत्र बुझाइएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले जानकारी दिइन् ।
उनले बर्दीया घटनाको भत्सर्ना गर्दै दोषिमाथि कारबाहीको माग समेत गरिन् । सरकारले कारवाही प्रक्रिया अघि नबढाए दाङमा पनि यस्ता घटना हुनसक्ने भन्दै कमलरीहरूको उद्धारकालागि तदारूकता देखाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिन् । प्रजिअ श्रेष्ठले कुनै पनि नाममा बालिकाहरूलाई श्रममा लगाउन नपाइने भन्दै कम्लरी उद्धारकालागि कडाइका साथ काम गर्ने आश्वासन दिए ।
त्यसैगरी अस्मिता थारूको आत्महत्या नभई हत्या गरिएको भन्दै घटनाको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाउनुको साथै मुक्त कमलरीहरूले धर्ना दिएका छन् ।




