बढैयाताल गाउँपालिका-७ राजापुर स्थित ४५ वर्षीय दुर्गा भण्डारीको घरमा भुण्डिएको अवस्थामा मृत भेटिएकी बाँसगढी नपा-४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारुको परिवारले छोरीको हत्या गरेको हुनसक्ने भन्दै इलाका प्रहरी कार्यलय मैनापोखरमा असार ४ गते उजुरी दर्ता गराएका छन् । प्रहरीले असार ४ गते नै दुर्गा भण्डारीलाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ ।
अस्मिता भण्डारीको घरमा ०७५ जेठ २९ गते भुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी दुर्गा भण्डारीको घरमा २०७० सालदेखि बस्दै आएकी थिइन् । उनलाई पढाइदिने शर्तमा दुर्गाले घरमा ल्याएका थिए । उनी स्थानीय भगवती माविको कक्षा तीनमा अध्ययनरत थिइन् । ६ वर्षको उमेरमा ‘मालिक’को घरमा ल्याइएकी अस्मिता कोठामा फलामको रडमा सलको पासोमा झुण्डिएर मृत अवस्था भेटिएकी हुन् ।
मृतक बालीकाको बावु मनिराम थारुका अनुसार कोठामा टेवुलको अगाडि घाँटी सलमा बेरिएको, दुवै हात र दुवै गोडामा निलडाम परेको, दुवै हात टेवुलमा राखेको र हत्केलामा फलामको काँटीले ठोके जस्तो घाउ भई रगत बगेको देखिएको थियो ।
इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर गणेश महतराले मृतकका बावुले दिएको दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाएको बताए ।
शवको पोष्टमार्टम जेठ ३० गते जिल्ला अस्पतालमा गरी थारु संस्कार अनुसार परिवारले अन्तिम संस्कारसमेत गरिसकेको छ ।